काठमाडौं- अमेरिकी बहुराष्ट्रिय कम्पनी अबोटको स्टकिस्ट थियो, एक नेपाली कम्पनी। करिब दुई वर्ष स्टकिस्ट बनेपछि उक्त कम्पनीलाई एकाएक हटाइयो। त्यसको कारण त कम्पनीका सञ्चालकले जानकारी पाएनन् नै, ‘डेट एक्स्पायर’ भइसकेका औषधि फिर्ता लिन पनि अबोटले आनाकानी गर्दै आएको छ। करिब दुई वर्षदेखि कम्पनीको गोदाममा त्यत्तिकै थन्किएका छन्, लाखौँ मूल्यका म्याद गुज्रेका औषधि।
कम्पनी सञ्चालकले ‘नेपाल औषधि बिक्रेता संघ’मा मौखिक उजुरी गरे। संघले कम्पनी सञ्चालकको समस्या समाधान गर्ने प्रयास पनि गर्यो। अबोटका ‘सुपर डिस्ट्रिब्युटर’ले म्याद गुज्रिएका औषधि फिर्ता लिने आश्वासन दिए। त्यसैले कम्पनी सञ्चालकले लिखित उजुरी अगाडि बढाउन सकेनन्। तर, उक्त आश्वासन अझै पूरा गरिएको छैन।
‘कतै उजुरी लिएर जाऊँ भने कसैले पत्याउँदैन किनकि अबोटले बजारमा ल्याएका औषधि आम प्रयोगमा छन् र गुणस्तरीय पनि,’ कम्पनी सञ्चालक भन्छन्, ‘उजुरी नगर्दा लाखौँको औषधि त्यत्तिकै गोदाममा सडेको छ। मेरो पैसा पनि आउने हो कि होइन टुंगो छैन।’
उनका अनुसार अबोटले नेपालमा बर्सेनि झण्डै १० अर्ब रुपैयाँको औषधिको कारोबार गर्छ। आम प्रयोगमा रहेका धेरै औषधिको उत्पादक भएकाले उक्त कम्पनीप्रति मानिसको विश्वास पनि गाँसिएको छ। तर, आफ्नो टार्गेट पूरा गर्न नाममा ‘स्टकिस्ट’हरू फेरेको फेर्यै गर्दा नेपाली औषधि बिक्रेताहरू मारमा पर्दै आएका छन्।
औषधि कम्पनीका बजार प्रतिनिधि (एमआर)हरूले आफूलाई दिइएको टार्गेट पूरा गर्न कागजात तोडमोड गर्ने गरेको नेपाली हेडलाइनको यसअघिको अध्ययनमा पाइएको थियो। अमेरिकी फर्मास्युटिकल कम्पनी एबोटका एमआरले उक्त कम्पनीले उत्पादन गरेको एक औषधि मागभन्दा दोब्बर मगाएका थिए, जुन गर्भपतन वा गर्भ नबस्ने समस्या हुँदा सेवन गरिने औषधि थियो।
सिनर्जी ओभरसिजले वितरण गर्ने एबोटको उक्त औषधिमा यस्तो फर्जी काम भएको थियो। पोखरास्थित प्रनिशा फर्माले एक बक्सा औषधि मगाउँदा सिनर्जीले दुई बक्सा पठाएको थियो। मागभन्दा बढी आएको गुनासो गर्न प्रनिशाले सम्पर्क गर्दा सिनर्जीले दुई बक्सा नै मगाएको चिठी देखाएको थियो। उक्त चिठ्ठी फर्जी थियो।
प्रनिशा फर्माले एक बक्सा मगाएको लेटरहेडसहितको माग फारम एमआरले फर्जी गरी दुईवटा बनाएका थिए। टार्गेट बढेपछि एमआरहरूले जथाभावी मागफारममा खेलबाड गर्ने गरेका छन्। नेपालमा एबोटका वितरक फर्माकेम वीरगञ्ज र सिनर्जी ओभरसिज हुन्।
आफूले मगाएको भन्दा बढी औषधि आउनु नौलो कुरा नभएको पनि केही औषधि व्यापारीहरू बताउँछन्। कुनै औषधि मगाएपछि कति आउँछ भनेर औषधि आएपछि मात्र थाहा हुने उनीहरूको भनाइ छ। फर्माकेमबाट औषधि मगाउँदा कम्पनीको सेल्स टिमले उनीहरूको टार्गेटअनुसार मनखुशी औषधि पठाएर बिलिङ गर्ने गरेको उनीहरू बताउँछन्।
नेपालभित्र हुने औषधि कारोबारमा करिब ४५-४६ प्रतिशत हिस्सा मात्र स्वदेशी उत्पादनको हुन्छ। ५४ देखि ५६ प्रतिशत हिस्सा विदेशी कम्पनीको रहेको नेपाल औषधि बिक्रेता संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ बताउँछन्। औषधि व्यवस्था विभागको अभिलेखअनुसार पनि बजारमा ४५ प्रतिशत नेपाली र ५६ प्रतिशत विदेशी उत्पादनको वर्चश्व छ, नेपाली बजारमा।
‘मार्केट म्यानुपुलेसन’
बजारमा आफ्नो उद्योगको औषधिका लागि ‘म्यानुपुलेसन सिस्टम’ नै अपनाउँछन्, विदेशी कम्पनीले। एमआरहरूले फर्जी माग फारममार्फत दोब्बर औषधि पठाइदिने र टार्गेट पूरा गर्ने नाममा ‘स्टकिस्ट’हरू फेरेको फेर्यै गर्ने दुई तरिका हुन्। तथापि, मार्केट म्यानुपुलेसनका अनेक तरिका छन्, जसले चिकित्सकहरूलाई रिझाएर आफ्नो उत्पादन बजारमा स्थापित गराउने प्रयास गर्छन्।
विदेशी कम्पनीहरूको आ-आफ्नै ‘म्यानुपुलेसन’ तरिका हुन्छ। सेमिनार, पढाइ, मेडिसिनल प्राक्टिस, तालिमका अफर चिकित्सकहरूलाई दिने गर्छन्, अबोटजस्ता विदेशी कम्पनीले। विदेशी कम्पनीहरूको मुख्य लक्ष्य नेपालमा नाम चलेका चिकित्सकहरूलाई हातमा लिने हुन्छ। अधिकांश बिरामीले नाम चलेकै डाक्टरहरूसँग परामर्श र उपचार सेवा लिने गर्छन्।
यस्ता डाक्टरहरूलाई ‘फोकस’ गर्दा दीगो समयसम्म औषधि बिक्री गर्न सकिने बुझाइ त्यस्ता विदेशी कम्पनीको हुन्छ। तथापि, औषधिको प्रभावकारिता र गुणस्तर नभई नाम चलेका या नचलेका दुवै प्रकारका चिकित्सकले ‘प्रेस्क्राइब’ गर्दैनन्। किनकि, केहीगरी गुणस्तरहीन औषधि ‘प्रेस्क्राइब’ गरेको सार्वजनिक भएमा डाक्टरहरूले पनि सजायको भागिदार बन्नुपर्छ। त्यसैले जसले प्रभावकारी र गुणस्तरीय औषधिसहित डाक्टरहरूलाई प्रभावमा पार्न सक्छन्, तिनै विदेशी कम्पनीले बजारमा कब्जा जमाउन सक्छन्।
औषधिको गुणस्तरसँगै विशिष्ट डाक्टरले ‘प्रेप्क्रिप्सन’ गर्नेबित्तिकै उक्त औषधि नेपालभरि सप्लाइ हुन्छ। सिनियर डाक्टरबाट औषधि ‘प्रेस्क्राइब’ हुँदा सामान्य जनमानस मात्र नभई जुनियर डाक्टरहरूमा पनि सोही छाप पर्ने गर्छ। सोही कराण पनि औषधि कम्पनीहरूले नाम चलेका तथा सिनियर डाक्टरहरूमा एप्रोच बढी राख्ने चलन छ।
कसरी नेपालमा औषधि वितरण हुन्छ?
भारतीय कम्पनीको सन्दर्भमा ‘सुपर डिस्ट्रिब्युटर’ हुन्छन्। र, नेपालमा एउटा कम्पनीलाई ‘सुपर स्टकिस्ट’ का रूपमा चुनिएको हुन्छ। ‘सोही सुपर स्टकिस्टले हामीजस्ता स्टकिस्टलाई नेपालभरि औषधिहरू वितरण गर्ने गर्छन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीलाई कम्पनीले नभई स्टकिस्टले नै वितरण गर्ने गर्छ। कम्पनीसँग कुनै प्रकारको सरोकार पनि रहँदैन हाम्रो।’
उदाहरणका लागि सिप्ला औषधि कम्पनीको नेपालका लागि आधिकारिक डिस्ट्रिब्युटर ‘यतीकेम’ छ। र, नेपालका औषधि बिक्रेताले सीधा सिप्लासँग होइन, यतीकेमसँगै कारोबार गर्छन्।
अमेरिकी कम्पनी अबोटले उत्पादन गर्ने औषधि नेपालमा गुन्जेश्वरी फर्मा, निरज फर्मास्युटिकल्स, फर्माकेम प्रालि, सिनर्जी ओभरसिज प्रालि (फार्मेसी युनिट) र यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालिले आयात गर्दै आएका छन्। तिनै कम्पनीले नेपालभर उक्त कम्पनीका औषधि सप्लाइ गर्छन्। तर, अबोटले आफ्नो कारोबारको रेखदेखका लागि काठमाडौंमा ‘कन्ट्री अफिस’ पनि खोलेको छ। र, नेपाल र भुटान हेर्ने गरी ‘कन्ट्री म्यानेजर’ पनि नियुक्त गरेको छ। अनि बजारमा प्रभुत्व विस्तार गर्न ‘सुपर डिस्ट्रिब्युटर’ मात्र होइन, ‘कन्ट्री अफिस’को पनि भूमिका रहन्छ। नेपालमा सबैभन्दा बढी डिस्ट्रिब्युटर भएको कम्पनी अबोट नै हो।
नेपाली औषधि कम्पनीले भने ‘सुपर स्टकिस्ट’, ‘सुपर डिस्ट्रिब्युटर’ आदि व्यवस्था गर्दैनन्। औषधि बिक्रेतालाई सीधा आफ्नो उत्पादन पठाउँछन्, जसले देशभर सप्लाइ गर्छन्।
फर्मुलामा हुन्छ काम
औषधि कति परिमाणमा भित्र्याउने भन्ने विषयमा फर्मुला नै हुन्छ, उत्पादक कम्पनी र बिक्रेताका बीचमा। कुनै पनि औषधि खरिदका लागि कुल बिक्री भएको औषधिमा एक दशमलव ५ वा दुई गुणाको गुणन हुन्छ। र, त्यसैमा क्लोजिङ स्टकलाई माइनस गरिन्छ।
औषधि कम्पनीले टार्गेट पूरा गर्ने नाममा बढी औषधि पठाउनुको कारण पनि त्यही फर्मुला हो। जस्तो- डेढ गुणा या दुई गुणा औषधि पठाउँदा पनि टार्गेट पूरा हुने नदेखिएमा तीन गुणासम्म बढी औषधि पठाइदिने गर्छन्, विदेशी कम्पनीका सुपर डिस्ट्रिब्युटरले।
‘यसो गर्ने क्रममा कहिलेकाहीँ औषधि वितरकले आवश्यकताभन्दा बढी पठाउने गरेको पनि पाइन्छ। बढी भएको औषधिको पुनः कम्पनीमै फर्किने भएकाले आवश्यकताभन्दा बढी औषधि डिस्ट्रिब्युटरले पठाउने भन्ने विषय भने उचित होइन,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ आपसी समझदारीमा औषधि बढी वा घटी ल्याउने भने हुन्छ।’
तथापि, पछिल्ला दिनमा यसलाई नियमनको प्रयास पनि भएको उनी बताउँछन्। ‘आधिकारिक इमेल तथा आपसी समझदारीमा ‘सीसी कपी’ पठाएर अर्डर र वितरण गर्ने चलन शुरु भएको छ, जसले आवश्यकताभन्दा बढी औषधि पठाउने पाटोलाई नियन्त्रण गर्न सघाउँछ,’ उनी भन्छन्, ‘दुई गुणाको सट्टामा तीन गुणा आउन सक्छ। तर, त्यो कम्पनी र वितरकको आपसी समझदारीमा भर पर्छ।’
नेपालमा एक सय २३ वटा कम्पनीले विदेशी करिब तीन सयवटा उत्पादकको औषधि आयात गर्छन्।
अत्यधिक आयात
नेपालमा विदेशी औषधिको आयात कुन परिमाणमा बढिरहेको छ भन्ने प्रष्ट हुन तीनवटा तथ्यांक केलाऊँ। ११ चैत ०७६ देखि २८ साउन ०७७ सम्ममा आठ अर्ब ६१ करोड ५८ लाख ६ हजार रुपैयाँबराबरको तयारी औषधि आयात भएको थियो। यस्तै, १ वैशाख ०७७ देखि सोही वर्षको जेठ मसान्तसम्ममा २१ अर्ब २० करोड ६४ लाख ७७ हजार रुपैयाँबराबरको तयारी औषधि नेपालले भित्र्याएको थियो। यस्तै, १६ वैशाख ०७८ देखि गत ३१ जेठसम्ममा पाँच अर्ब ५४ करोड ४१ लाख एक हजार रुपैयाँबराबरको तयारी औषधि आयात भएको छ।
नेपालमै औषधि नबन्ने होइन, बन्छ। नेपालमै पनि औषधिका कच्चापदार्थ नपाइने होइनन्, पाइन्छन्। तर, औषधिको कच्चापदार्थ पनि नेपालले विदेशबाटै आयात गर्छ। जस्तो- ११ चैत ०७६ देखि २८ साउन ०७७ सम्ममा दुई अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपैयाँबराबरको कच्चापदार्थ नेपाल भित्रिएको थियो।
यस्तै, १ वैशाख ०७७ देखि सोही वर्षको जेठ मसान्तसम्ममा एक अर्ब २० करोड ८८ लाख ६० हजार रुपैयाँबराबरको कच्चापदार्थ नेपालले भित्र्याएको थियो। गत १६ वैशाखदेखि ३१ जेठसम्ममा एक अर्ब ८२ करोड ६ लाख ४७ हजार रुपैयाँबराबरको कच्चापदार्थ नेपाली उद्योगीले आयात गरेका छन्।
यी तीन अवधिलाई यस तथ्यांकमा तुलना गर्नुको कारण कोभिड-१९ महामारीको समयमा नेपालमा औषधिको आयात कुन परिमाणमा भएको छ भन्ने देखाउन खोजिएको हो। ११ चैत ०७६ देखि नेपालमा कोरोना प्रसार रोक्न देशव्यापी लकडाउन लागू गरिएको थियो। त्यसयता कहिले खुल्दै कहिले कडा निषेधाज्ञाका बीच कोरोना प्रसार रोक्ने प्रयास जारी छ। यसबीचमा १ वैशाख ०७७ देखि सोही वर्षको जेठ मसान्तसम्ममा सर्वाधिक तयारी औषधि नेपाल भित्रिएको पाइन्छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गर्ने आपूर्तिको यो तथ्यांकले नेपालमा तयारी औषधिको आपूर्ति बढिरहेको संकेत गर्छ। औषधिको कच्चा पदार्थको आयातमा भने कोरोना भाइरसको प्रकोप बढेसँगै मास्क, सेनिटाइजरलगायत स्वास्थ्यजन्य वस्तुसँगै औषधिको उत्पादनमा आत्मनिर्भरता बढाउन बढी मात्रामा गरिएको हो।
उधारो बढी
वर्तमान परिस्थितमा औषधि वितरकहरूको संख्या बढ्दो छ। सोही कारण बजारमा प्रतिस्पर्धा ‘टफ’ बनेको छ। र, हेभी डिस्काउन्ट र कतिपय अवस्थामा उधारोमा पनि औषधिको कारोबार हुन थालेको छ। ‘फर्माहरूका लागि कुन डिस्ट्रिब्युटरबाट औषधि लिने भन्ने ‘चोइस’ बढी छ। यसकारण पनि अस्वस्थ प्रतिस्पर्धा बढेको छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्।
नगद तिरेर ल्याएको औषधि उधारोमा जाँदा लगानी उठ्न समय लाग्छ। फर्मालाई जस्तो वितरकहरूसँग ‘चोइस’ पनि छैन। ‘मेरा लागि चोइस भनेको पैसा तिर, औषधि भित्र्याऊ,’ वितरकहरूको अवस्था चित्रण गर्दै उनी भन्छन्, ‘यस प्रकारको प्रतिस्पर्धा भने नेपाली उद्योगमा बढी देखिन्छ।’
बोर्डर क्षेत्रमा अवैध औषधि
नेपाल सरकारले सूचीकृत गरेका औषधि मात्र बजारमा बिक्री वितरण गर्न पाइन्छ। तर, भारतसँग सीमा जोडिएका जिल्लाको कुरा फरक छ। नेपाल सरकारले सूचीकृत नै नगरेका औषधि सीमा क्षेत्रका मेडिकल पसलमा छ्यापछ्याप्ति पाइन्छन्। विचौलिया र तस्करीमा संलग्न व्यक्तिहरूले त्यसरी औषधि भित्र्याएर बिक्री वितरण गर्छन्। त्यस्ता औषधिको गुणस्तरबारे नेपालतर्फ जानकारी हुँदैन किनकि नेपालका कुनै प्रयोगशालामा तिनको परीक्षण भएको हुँदैन। त्यस्ता अवैध औषधि पहाडी र हिमाली जिल्लासम्म पुर्याइएको हुन्छ। औषधि व्यवस्था विभागको प्रभावकारी अनुगमन नहुँदा बजारमा छ्यापछ्याप्ती अवैध औषधि भेटिने गर्छन्।
जस्तो- २८ भदौमा वीरगञ्जमा अनुमतिबिना नै औषधि भित्र्याउँदै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लियो।। ट्रकमा १३ लाख ४८ हजार ७७६ रुपैयाँबराबरको सात सय ८६ कार्टुन पोलिबियन २ सय ५० एमएल सिरप औषधि फेला परेको थियो। ट्रक चालकसँग औषधि आयातका लागि आवश्यक कागजात नै थिएनन्।
उक्त औषधि विभागबाट अनुमतिप्राप्त भाजुरत्न फर्मा प्रालिले नेपाल भित्र्याउँदै थियो। उक्त कम्पनीले अट्रा फर्मास्युटिकल्स, कर्नाटका एन्टिबायोटिक्स एन्ड फर्मास्युटिकल्स, मर्क लिमिटेड इन्डिया र एएनबी ल्याबोरेटोरिजका औषधि नेपाल आयात गर्न अनुमति पाएको छ।