काठमाडौं– राष्ट्रियसभाले बजेट पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दैछ ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बजेट प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् ।
राष्ट्रियसभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पारित गरी प्रतिनिधिसभामा पठाइदिएको छ । राष्ट्रियसभाले पारित गरेको सूचना प्रतिनिधिसभाको बैठकमा सचिव गोपालनाथ योगीले दिएका थिए ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्नेछ ।
प्रतिनिधिसभाले ४ असोजमा बजेट पारित गरेको थियो । राष्ट्रियसभाले बिहीबार मात्रै उक्त बजेट पारित गरेको हो । बजेटका अन्य दुई विधेयक भने अझै पारित हुन बाँकी छन् ।
करका दरसम्बन्धी बेहोरा उल्लेखित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ । अब राष्ट्रियसभाबाट ती विधेयक पारित हुने छन् । सम्भवतः शुक्रबारको राष्ट्रियसभा बैठकबाट ती विधेयक पारित हुने छन् ।