पोखरा- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यही सातामा पार्टी सरकारमा सहभागी हुने बताएका छन्।
संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए। अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पारे।
उनले भने, ‘विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन। अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्याउनुहुँदैन। गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नुपर्दछ।’ अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता बताए।
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए। ‘संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ,’ अध्यक्ष नेपालले भने।
कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए।