काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेलतालिका सार्वजनिक गरेको हो।
१० भदौदेखि काठमाडौं उपत्यकामा शुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्। त्यही दिन अर्को खेल एफसिएस एस र गोदावरी युनाइटेडबीच हुनेछ।
सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग ८ कात्तिकसम्म चल्नेछ। एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीनवटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन्।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नकआउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्।