नयाँदिल्ली- भारतीय राष्ट्रिय क्रिकेटबाट खेलिसकेका क्रिकेटर परवेज रसुलमाथि जम्मु कश्मीर क्रिकेट एसोसिएसनले चोरीको आरोप लगाएको छ । एसोसिएसनको स्वामित्त्वमा रहेको मैदान सम्याउने पिच रोलर चोरी गरेको क्रिकेटर परवेजविरुद्ध आरोप छ ।
एसोसिएसनले उनलाई रोलर फिर्ता गर्न सूचना जारी गरेको छ । तोकिइएको समयभित्र पिच रोलर फिर्ता नगरे परवेजमाथि कानूनी कारवाही अगाडि बढाइने एसोसिएसनले जनाएको छ ।
क्रिकेटर परवेजले भने आफूमाथि लगाइएका सबै आरोप झुटो भएको दाबी गरेका छन्। इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै परवेजले एक खेलाडीमाथि एसोसिएसनले निशाना बनाएर हुँदै नभएको आरोप लगाएको बताएका छन्।
यसैबीच एसोसिएसनका सदस्य अनिल गुप्ताले परवेज मात्र नभएर पिच रोलर लिएका सबै व्यक्तिलाई नोटिस पठाएको जानकारी दिएका छन् । ‘एसोसिएसनले निश्चित समयका लागि उपलब्ध गराएको रोलर फिर्ता गराउने प्रयास हो, यसमा हामीले सबैलाई नोटिस पठाएका छौँ,’ उनले भने, ‘व्यक्तिगत रूपमा हामी कसैको मनलाई चोट पु¥याउने उद्देश्य राखेका छैनौँ, यो केवल नियमअनुसार मात्र कारबाही अगाडि बढाइएको हो ।’