काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ।
नयाँ कार्यसमितिमा कतारबाट वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसिसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ। एनआरएनएले यस वर्षदेखि युवा उपाध्यक्ष पद राखेको हुँदा रेग्मीको उक्त पदमा उम्मेदवारी आएको हो।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ। रेग्मीले भनेका छन्, ‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु।’
एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
एनआरएन अभियानमा उदयीमान तथा ऊर्जाशील रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन्। एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुलेका रेग्मी सम्भवत निर्विरोध निर्वाचित हुनेछन्।