काठमाडौं– भारतीय अंतरिक्ष अनुसन्धान संगठन (इसरो)ले १२ अगष्ट २०२१ को बिहान स्थानीय समय अनुसार पौने ६ बजे रकेटमार्फत् अर्थ अब्जरभेसन स्याटेलाइट–३ लन्च गर्यो । लन्चिङ सफल भए पनि रकेटको तेस्रो चरणमा पुग्दा आएको प्राविधिक गडबडीका कारण त्यसको सम्पर्क टुट्यो । अर्थात् स्याटेलाइट र त्यसको साथ क्रायोजेनिक इन्जिन अन्तरिक्षमा आफ्नो कक्षमा पुग्नुभन्दा अगाडि नै बेपत्ता भयो ।
इसरोले आफ्नो एक बयानमा यो मिशन असफल भएको जनाएको छ ।
बिहान श्रीहरि कोटाको सतिश धवन स्पेस सेन्टरको लन्च प्याडबाट जीएसएलभी–एफ१० रकेट सटिकपूर्वक उड्यो । दुई मिनेट उडेपछि पहिलो चरण अर्थात् रकेटको सबैभन्दा तल्लो भागमा जडान गरिएको स्ट्रेपअन बुस्टर्स २ मिनेट २८ सेकण्डपछि अलग भयो ।

रकेट तीव्र गतिका साथ अन्तरिक्षतर्फ गइरहेको थियो । त्यतिबेला रकेटको गति ९ हजार ६ सय ७९ किलोमिटर प्रतिघण्टा थियो ।
दोस्रो स्टेज अर्थात् जीएस–२ मा स्याटेलाइट अझै वेग (प्रतिघण्टा १३ हजार ७२९ किलोमिटर प्रतिघण्टा)को गतिमा आफ्नो लक्ष्यतर्फ उडिरहेको थियो । यसै समयमा स्याटेलाइटको माथितिर बनेको हिट शिल्ड अर्थात् रकेडको सबैभन्दा माथिल्लो हिस्साको कभर हट्यो ।
लन्चको करिब ४ मिनेट ५१ सेकेण्डपछि दोस्रो स्टेज बन्द भयो । त्यसको ४ सेकेण्डपछि दोस्रो स्टेज रकेटबाट अलग्गियो । यहाँसम्म त सबै ठिकठाक नै थियो । श्रीहरि कोटास्थित मिशन कन्ट्रोल रुममा वैज्ञानिकहरुले आ–आफ्नो कम्प्युटरमा ध्यान केन्द्रित गरिरहेका थिए । किनभने जबसम्म स्याटेलाइट आफ्नो लक्ष्यमा पुग्दैन तबसम्म डाटामा ध्यान दिनुपर्ने हुन्छ ।
वैज्ञानिकहरु यतिबेलासम्म त खुसी नै थिए । लन्चको करिब ४ मिनेट ५६ सेकेण्डपछि तेस्रो स्टेज जीएस–३ सुरु भयो । यो स्टेजलाई क्रायोजेनिक इन्जिन भनिन्छ । यही तेस्रो स्टेज सुरु हुनासाथ कन्ट्रोल रुपका वैज्ञानिकहरुबीच सन्नाटा छायो । किनभने अचानक मिशन कन्ट्रोल सेन्टरबाट त्यसको सम्पर्क टुट्यो । यद्यपि टेलिमेट्री स्क्रिनमा डाटा बेलाबेलामा आइरहेको थियो । त्यसैले कुनै अप्रिय घटना नहुने अलिकति आशा वैज्ञानिकहरुमा थियो ।
रकेट लन्च गरिएको करिब १८ मिनेट २४ सेकेन्डमा क्रायोनिक इन्जिन बन्द हुनुपर्थ्यो । यसको पाँच सेकेण्ड अर्थात् १८ मिनेट २९ सेकेण्डमा क्रायोनिक इन्जिन बर्नआउट हुनुपर्थ्यो, तर भएन ।
मिशन पूरा हुने अन्तिम समय १८ मिनेट ३९ सेकेण्डबीच इन्जिन र स्याटेलाइटबीचको सम्पर्क टुट्यो ।
यससँगै प्राकृतिक विपत्ति र मौसम सम्बन्धी रियल टाइमको जानकारी लिने भारतको उद्देश्य पूरा हुन सकेन । यतिमात्र होइन, यो स्याटेलाइटमार्फत् भारतको स्थल र जल सिमानामा निगरानी गर्न पनि सकिन्थ्यो । तर त्यस्तो हुन सकेन ।