काठमाडौं– श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान दिनेश चण्डिमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।
शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले बिहीबार विज्ञप्ति जारी गर्दै चण्डिमाललाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी गराएको छ । चण्डिमाल भैरहवाले ईपीएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन् ।
चण्डिमाल श्रीलंकाको टी–२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डिमालले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी–२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
सन् २०१४ को टी–२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चण्डिमाल पनि उक्त टोलीका सदस्य थिए । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चण्डिमाल ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गरेका थिए ।
चण्डिमालले श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी–२० आई खेल खेलेका छन् । टी–२० आईमा चण्डिमालले ५ अर्धशतक सहित कुल ८६८ रन जोडेका छन् । चण्डिमालले राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन् । ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चण्डिमाल श्रीलंकाको वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चण्डिमालले श्रीलंका टेस्ट, ओडीआई र टी–२० तीनै शैलीका खेलमा कप्तानी गरेका छन् ।