काबुल । विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । रणनीतिक दृष्टिकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् ।
घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् । पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् ।
सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउँदै लगेका हुन् ।
अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको छ । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए ।
राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको बीबीसीले जनाएको छ ।