बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्ताव सामना नगरी बुधबार उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा आबद्ध विपक्षी गठबन्धनका सांसदहरूले १९ साउनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख शेरचनले बुधबार १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । तर, विशेष अधिवेशन सुरु हुनुभन्दा केही मिनेटअघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष राजीनामा दिए ।
तर उनको राजीनामाले प्रदेश सभाको विशेष अधिवेशन रोकिएन । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले टेलिफोन गरी राजीनामाको जानकारी गराएको तर पत्र प्राप्त नभएको भन्दै बैठक सुरू गरे । बैठकमा विपक्षी गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता कनोडियाले मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्ताव पेश गर्दै भावी मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरे ।
बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान
प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पत्र प्राप्त भएपछि बैठक स्थगित गरिएको छ । प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन्। लुम्बिनीमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सांसद छन्। यस्तै, मुख्यमन्त्री पोखरेको पार्टी एमालेका ३८ सांसद छन् ।
यसअघि विपक्षी गठबन्धनले ६ वैशाख र २६ वैशाखमा पनि पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ६ वैशाखमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न १९ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, १९ वैशाखमै राजीनामा दिएर केही घण्टा कामचलाउ मुख्यमन्त्री बनेका पोखरेलले सोही दिन तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै सरकारी निवासमा बोलाएर बहुमतप्राप्त दलको नेताका रूपमा मुख्यमन्त्रीको सपथ लिएका थिए ।
२६ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तत्कालीन प्रदेश प्रमुख यादवले अस्वीकार गरेका थिए ।
८७ सदस्यीय प्रदेशसभामा हाल ८० सदस्य मात्र छन् । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका दुई सांसदलाई माओवादी केन्द्रले कारवाही गरी बखास्त गरेको थियो । यसतै, एमालेतर्फ अमर डाँगी र सूर्य चिन्ह लिएर निर्वाचन जितेका दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए। यसैगरी, पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको उल्लेख गर्दै जसपाले आफ्ना तीन सांसदलाई दोस्रोपटक कारवाही गरी बर्खास्त गरेको छ ।