काठमाडौं- संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ। जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपछि निर्वाचन आयोगले सोमबार यादव पक्षलाई आधिकारिकता दिने फैसला सुनाएको हो।
यादवका पक्षमा ३४ र महन्थ ठाकुरका पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए। यादवको पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकाले आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।
सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य रेशमलाल चौधरी भने तटस्थ बसेका छन्। केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको ‘हेड काउन्ट’का लागि सोमबार डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफू तटस्थ बस्ने घोषणा गरेका हुन्।
आयोगमा आएपछि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षसग भेटेपछि उनले तटस्थ बस्ने बताएका हुन्।
निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई अलग्गै दल गठन गर्न सक्ने अवसर दिएको छ। तर, नयाँ दलमा आबद्ध भएमा उनी पक्षका सांसद र देशभरका जनप्रतिनिधिको पद स्वतः रिक्त हुनेछ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत नपुगेका कारण महन्थ पक्षसामु अलग्गै राजनीतिक दल गठन गर्ने अवसर मात्र बाँकी छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार जसपाका सांसदहरू आधिकारिकता पाएको पक्षमा नबसेमा पद रिक्त हुनेछ।
संघीय संसद मात्र होइन, जसपाबाट विजयी भएका प्रदेशसभा र स्थानीय तहसम्मका जनप्रतिनिधिसम्मको हकमा त्यही प्रावधान लागू हुनेछ। हाल प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका एक सांसद महन्थका पक्षमा देखिँदै आएका छन्। प्रदेश र स्थानीय तहमा महन्थ पक्षका जनप्रतिनिधिको यकिन तथ्यांक भने उपलब्ध भएको छैन।