चेपाङ परिवार भन्छन्- ‘हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, बाटो मागेनौँ, अस्पताल मागेनौँ, मात्र ओत लाग्ने घर मागेका थियौं तर हामी जनतालाई रुवाएर मेरो कम्युनिस्ट सरकारले मन्दिर दियो।’
भरतपुर- चितवन कुसुमखोला पुग्दा काजीमान प्रजा र उनको श्रीमती नैनि माया (लाली) खुसार्नी र पानीसँग निस्तो भात खाँदै थिए। उनीहरू सँगै ५ वर्षकी उनकी छोरी पनि थिइन्। काजीमान प्रजा भात पकाएकै देक्चीमा भात खादै थिए। नैनीमाया स्टिलको थालमा।
त्यही निस्तो भात छोरीलाई खुवाइसकेर उनीहरू आफू खाँदै थिए। ‘लगातारको वर्षाको कारणले जंगलमा साग खोज्न पनि जान सकिएन,’ काजीमानले भने, ‘सहयोगमा आएको दाल र तरकारी पनि सकियो। त्यसैले दुई छाक भयो नुनको सहयोगमा भात खान लागेको।’ उनका अनुसार चामल पनि दाताको सहयोगमा प्राप्त भएको हो। खाना पाकेर सकिँदासमेत उनीहरूको चुलो निभेको थिएन।
कारण- आगो निभ्यो भने पुनः बाल्न उनीहरूसँग सलाइ थिएन, किन्न जान पैसा भएन। त्यसैले बेलाबेलामा दाउरा थपेर उनीहरू आगो बालिरहन्थे। कुनै समय एक सय ६० भन्दा बढी चेपाङ रहेको यो गाउँमा अहिले प्रजा दम्पत्ती मात्र बस्छन्।
यो ठाउँ पुग्न माडीको वसन्तपुर बजारदेखि दर्जन बढी पुलबिनाका खोला-खोल्सा र घना जंगल पार गर्नुपर्छ। माडी नगरपालिका-९ कुसुमखोला वसन्तपुरबाट करिब १८ किलोमिटर यातायातका साधन र ४५ मिनेटको पैदल यात्रा गर्नुपर्छ। अत्यधिक वर्षा हुँदा खोलाका कारण यहाँ पुग्न कठिन छ। कुसुमखोलामा बस्ती नभएपछि पैदल बाटोसमेत जीर्ण छ।
गत ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले यहाँको चेपाङका घरटहरामा आगो लगाइदियो। कतिपय घरटहरा हात्ती लगाएर भत्काइयो। त्यसपछि अन्य परिवार यहाँबाट हटे पनि काजीमान र नैनी भने यहीँ बसिरहेका छन्। गत वर्ष ३ साउनमा निकुञ्जले कुसुमखोलाका चेपाङका घरमा हात्ती लगाउँदै आगो सल्काएको थियो। नगरपालिकाका अनुसार त्यो समयमा यहाँ १० चेपाङ परिवार बस्थे। निकुञ्ज कर्मचारी र सैनिक टोलीले कुसुमखोलाका काजीमानको पुख्र्यौली घरमा आगो सल्काइदिए। दीपबहादुरको घर पनि जलाइदिए। अन्य केही घर हात्ती लगाएर भत्काउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिइएको थियो।
तर, १५ साउन ०७७ मा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्काइएकोमा क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको थियो। तर, वर्ष दिनसम्म पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश बेवास्ता गर्दै आएको सरकारले त्यही वडामा नक्सासमेत पास नगरी अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न राममन्दिर निर्माण गरेको छ। केपी ओली प्रधानमन्त्री भएका बेला आफ्नै खर्चमा ती मूर्तिहरू निर्माण गराएका हुन्।
प्रजा दम्पत्तीले गत साल निकुञ्जले आगो लगाएको घरकै केही काठपात प्रयोग गरेर सोही ठाउँमा भान्साघर बनाएका छन्। उनीहरू त्यही घरमा बसेर बिहानको खाना खाँदै थिए। निकुञ्जले आगो लगाउनुअघि त्यहाँ उनका कान्छा छोरा दानबहादुर बस्दै आएका थिए। ‘जुन घर हामी मकवानपुरको लोथरबाट आएर ०४८ साल बनाएका थियौँ। छोरा अहिले यहाँबाट बसाइँ सरेर गयो। पुख्र्यौली घरको निकै माया लाग्छ, त्यसैले त्यही ठाउँमा फेरि बनायौँ,’ काजीमानले भने।
बिजुली, पानी, सडक, शिक्षा र स्वास्थ्यको राम्रो प्रबर्द्धन नभए पनि जनता आवासबाट यहाँ ०६५-६६ सालतिर केही घर बनेका थिए। पुख्र्यौली घरमा खाना खाएर जनता आवास कार्यक्रमअन्तर्गत नै बनेको घरमा उनीहरू सुत्ने गर्छन्। ‘हामी तत्कालीन पञ्चायती सरकारबाट सिफारिस लिएर नै बसेका हौँ। जनता आवासले घर पनि बनाइदियो। तर, अचानक हामीलाई यो राज्यले उचित व्यवस्था नगरी हटाउन खोजेको छ, हटाएको छ। कारण नै बुझेका छैनौँ,’ काजीमानले भने।
नैनीमाया भन्छिन्, ‘हाम्रो अन्त जाने ठाउँ छैन। अरूको जमिनमा गएर बस्ने कुरा पनि भएन। यहीँ ठाउँमा जन्म भयो, बस्यौँ, हुर्कियौँ, हामी कहाँ जाने त?’
श्रीमतीको कुरामा स्वर मिलाउँदै काजीमानले भने, ‘बाढी लाग्ने खोलाको छेउमा एक कठ्ठा जमिनमा घर बनाएर बस्न पाइन्छ रे तर लालपुर्जा पाइँदैन। विगतमा ६ कठ्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइयो। तर, लालपुर्जाविना खोलाको छेउमा एक कठ्ठाका लागि कहाँ जाने, यहीँ बस्ने, यहीँ मर्ने। हामी कतिपटक कति ठाउँमा गएर सुकुम्बासी बन्ने?’
उनको शरीरमा बल पनि सकियो, काम गरेर खाने शक्ति पनि छैन। कमसेकम यहाँ त खेती गर्दै आएको खेतबारी छ। पाँच पाथी मकैको बीउ, १२ माना कोदो र दुई किलो तिल बारीमा लगाएका छन्। साना-ठूला गरेर पाँचवटा बाख्रा छन्। उनी यसैमा खुशी छन्। तर, अन्नपात उत्पादन गरे पनि निकुञ्जका कर्मचारीबाट उनीहरूको डर अझै हराएको छैन। ‘कहिलेकाहीँ निकुञ्जका कर्मचारीहरू आउनुहुन्छ,’ नैनीमायाले भनिन्, ‘बारीमा हुर्किएको मकै र अन्नपात देखाउँदै हाम्रो हात्तीलाई ख्वाउन लगाएको हो भन्नुहुन्छ। बेस्सरी डर लाग्छ, कतै अन्न भित्र्याउने बेलामा फेरि निकुञ्जले तहसनहस बनाउने हो कि भन्ने।’ विगतमा हात्ती लगाएर घर जलाएको दृश्य देखेकी उनकी पाँच वर्षकी छोरी पनि त्यो दिन सम्झिएर आज पनि झस्किन्छिन्।
जंगलको बीचमा एक्लै बस्दै आएका प्रजा दम्पत्तीको केपी ओली सरकारमा हुँदा आफूहरूलाई बासको व्यवस्था नगरिदिएको गुनासो छ। ‘हामीलाई घरविहीन बनाएर सरकारले मन्दिर बनायो भन्ने सुनेकी छु,’ नैनीमायाले भनिन्, ‘प्रधानमन्त्रीले आफ्नै खर्चमा भगवानको मूर्ति बनाउनुभयो रे। सरकारले पहिला त हाम्रो घर बनाउनुपर्ने थियो। मान्छेले खान-लाउन पाएका छैनन्। मन्दिर बनाएर हुन्छ? हामी पनि खुशी हुनुपर्छ, मन्दिर मात्र बनाएर हामीलाई के काम?’ उनले प्रश्न गरिन्।
आफ्ना दुःख पोख्दापोख्दै नैनीमायाका आँखा रसाए, बलिन्द्रधारा गालातिर खस्न थाले। ‘निकुञ्जका मान्छेले हात्ती ल्याएर हाम्रो घर भत्काइदिए। जंगली हात्ती र जनावरको पनि हामीलाई यहाँ डर छ। बारीको अन्नपात जंगली जनावरले नष्ट पारिदिन्छन्। यस्तो दुःखमा बुवाआमाले हामीलाई कसरी जन्माए भनेर दुःख लाग्छ,’ उनले सुँक्कसुँक्क गर्दै भनिन्।
खेती गर्ने र लालपुर्जा पाइने जमिन भए उनीहरू जहाँ गएर पनि बस्न मञ्जुर छन्। छोराहरूले त यो ठाउँ छोडिसके। उनीहरूले भने जंगल छोड्न सकेका छैनन्। निकुञ्जले घर जलाउँदा घरसँगै कान्छो छोरा दानबहादुरको नागरिकता र नगद १० हजार रुपैयाँ पनि जले। निकुञ्जको अमानवीय कार्यपछि दानबहादुरले गत चैतमा कुसुमखोला छाडेर माडीकै खरीकुना भन्ने ठाउँमा पुराना काठ र खरबाट घर बनाएका छन्। उनी पुरानो कुरा सम्झन चाहन्नन् तर कुसुम खोला छाडेर पनि उनलाई खासै फरक महसुस भएको छैन। उता पनि जंगलमै उनको बास छ। अहिले पनि जंगलकै छेउमा उनको घर छ। निकुञ्जको डरसँगै थोरै घर हुँदा समस्या हुन्छ भनेर उनले कुसुम खोला छाडेर निस्किएका थिए। यो घर नहुँदा उनी आफन्तको घरमा बस्थे।
‘जंगलमै बसेर जिन्दगी त नकट्ला,’ मलिन हुँदै दानबहादुरले भने, ‘भविष्यको लागि केही सोच्नुपर्छ।’ सरकारले मन्दिर बनाउँदा उनी खुशी छन् तर आफ्नो घर बनाउन सरकारले चासो नदिँदा दुःखी। अहिले दानबहादुरले एक हल गोरुको एक दिनको मेलोमा मकै लगाएका छन्। भीरमा पर्ने जमिनले उनी र उनकी श्रीमतीलाई एक वर्षभरि खान पनि पुग्दैन।
एक वर्षअघि निकुञ्जले घर जलाएपछि दीपबहादुर प्रजा माडी नगरपालिकाको वडा नम्बर ७ को देवेन्द्रपुरकोे परुई खोलाको किनारमा बस्दै आएका छन्। कुसुम खोलाबाटै लगेको काठबाट उनले घर बनाएका हुन्। उनीसँगै यहाँ कुसुम खोलाबाटै बसाइँ सरेर आएका ५५ घरका ३७५ जना चेपाङ छन्। ५२ वर्षका दीपबहादुरलाई कुसुम खोलाबाट आएपछि नयाँ घरमा बस्न पाइएला भन्ने आश थियो। उनको आशा अहिलेसम्म पूरा भएको छैन। अन्तिम समयसम्म भए पनि नयाँ घरमा रात बिताएर मर्ने धोको उनको छ। बर्खामा सजिलै पानी छिर्ने र चर्को घाममा सोझै घाम पर्ने घरमा उनी बसिरहेका छन्। खोलानजिक भएकाले उनलाई खोलाको डर पनि छ। उनीसहित चारजनाको परिवार अहिले मेलापात र राहत सहयोगले जीवन निर्वाह गर्दै आएको छ। उनी भन्छिन्, ‘पहिलेको जस्तै आफ्नै खेतीपातीबाट जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। मभन्दा पहिल्यै आएकाहरूले त यहाँ घर र लालपुर्जा पाएका रहेनछन्। म एक वर्षअघि आएकोले के पाउँला?’
यहाँका चेपाङ परिवारलाई नयाँ घर बनाउन बजेट पनि विनियोजन नभएको होइन। तर, निकुञ्जले काम नै शुरु गर्न नदिँदा बजेट फ्रिज भयो। कुसुम खोलाबाट विस्थापित भएका र त्यहीँ बसिरहेका विपन्नलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा प्रदेश सरकार, नगरपालिका र दाताको सहयोगमा ९० वटा घर निर्माण थालेको थियो। ‘तर, निकुञ्जले काम अगाडि बढाउन दिएन,’ माडीका मेयर ठाकुरप्रसाद ढकालले भने।
उनका अनुसार माडी-७ का देवेन्द्रपुरको परोई खोला किनारमा ५० वटा घर बनाउन पोल गाड्दै गर्दा निकुञ्जले रोक्यो। जहाँ अहिले पनि निर्माण सामग्री र सिमेन्टका पोलहरू अलपत्र छन्। माडी-९ राईटोलमा निकुञ्जको अवरोधबीच ४७ घर निर्माण गरिएको ढकालले बताए।
‘१३ वटा घरमा निकुञ्जले जस्तापाता हाल्नै दिएको थिएन, हामीले जबर्जस्ती गर्यौँ,’ ढकालले भने। यहाँ कुसुम खोलाबाट बसाइँ सरी आएका ७३ घर छन्। यता माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारस्थित टुनामुना खोलाको किनारमा पाँचवटा टिनका टहरा बनाइएको छ। तर, त्यसबाहेकका काम गर्न निकुञ्जले अवरोध पुर्याएको छ। यहाँ २६ परिवारको बसोबास छ। घरबारविहीन बनेका परिवार कोही छाप्रो बनाएर बसेका छन् भने कोही आफन्तको शरणमा छन्।
एक वर्षदेखि चेपाङको बिचल्ली, मन्दिरका लागि भने ११ दिनमै बजेट
कुसुमखोला क्षेत्रमा करिब तीन दशकदेखि चेपाङ परिवार बस्दै आएका थिए। धादिङ र मकवानपुरबाट उनीहरू यहाँ आएका हुन्। शुरुमा त्यस क्षेत्रमा एक सय ६० चेपाङ परिवार बस्थे। ०७४ सालमा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे। १० परिवार भने कुसुमखोला क्षेत्रमै बसिरहेका थिए। उनीहरूकै घरमा निकुञ्जले आगो लगाएको हो। वर्ष दिनसम्म चेपाङको आवाज र सर्वोच्चको आदेश बेवास्ता गर्दै आएको सरकारले त्यही क्षेत्र माडी ९ मा ११ दिनमै अस्थायी मन्दिर बनाएर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिसकेको छ। ती मूर्तिहरू निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा बनाएका हुन्। मन्दिर भने वागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको हो। मूर्ति निर्माण र माडीमा ल्याई स्थापित गर्दासम्मको खर्च विवरण उपलब्ध छैन। तर, अस्थायी मन्दिर बनाउन ३७ लाख ५१ हजार आठ सय रुपैयाँ खर्च भएको छ। मन्दिर मात्र नभई मन्दिरको सत्तल, पूजा घर, शौचालय निर्माण गरिएको छ। नियमित पूजा गर्ने एक पूजारी नियुक्ति गर्ने तयारी पनि छ।

तत्कालीन एमालेबाट विजयी माडी नगरपालिका वडा नम्बर ९ की वडा सदस्य पूर्णिमा चेपाङले पनि कुसुम खोलाबाट निस्केपछि कुनै तनाव नहुने सोचेकी थिइन्। तर, सोचेजस्तो भएन। उनी भन्छिन्, ‘सरकारको नजरमा मानिसभन्दा मूर्ति प्राथमिकतामा पर्दा बढी समस्या भएको छ। सरकारले राममन्दिर बनाएको ठीक छ, बजेट छ भने मन्दिर, मस्जिद, चर्च बनाओस्। तर, गरिब जनताको घरमा आगो लगाएर मन्दिरमा अगरबत्ती बाल्दा कुन भगवान् खुशी हुन्छन् होला?’
दुनियाँले विरोध गर्दा र अदालतले आदेश दिँदा पनि आफ्ना घर निर्माण नभएकामा उनी दुःखी छिन्। ‘हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, बाटो मागेनौँ, अस्पताल मागेनौँ, मात्र ओत लाग्ने घर मागेका थियौं तर हामी जनतालाई रुवाएर मेरो कम्युनिस्ट सरकारले मन्दिर दियो,’ उनी भन्छिन्, ‘के मन्दिरसँगै हामीलाई यो राज्यले घर दिन सक्दैनथ्यो?’
दुई वर्षअघि कुसुम खोला छोडेर माडीको शिवद्वार टुनामुना खोला किनारमा आएका चन्द्रबहादुर चेपाङ बसाइँ सराइले थप समस्यामा पारेको छ। पाँचजनाको परिवार रहेका उनलाई अहिले के खाने भन्ने चिन्ताले पिरोल्छ। ‘हामी आफ्नो घर छाडेर आयौं, यहाँ आएर झन् बिचल्ली भयो। अरूको १० कठ्ठा जमिन अधियाँ लिएर खेती गर्दै आएको छु। मान्छे बस्ने गतिलो घर छैन, उब्जनी भएको धानसमेत राख्ने ठाउँ नहुँदा साहुकहाँ नै राख्ने गरेको छु।’
भएको घर र एक कठ्ठा जमिन पनि बाढीले बगाउने डरमा छन्, सोही ठाउँका कमल चेपाङ। उनी गाँस, वास र कपासको व्यवस्था गरिदिन सरकारसँग अनुरोध गर्छन्। ‘हामी माग लिएर नगरपालिकासम्म गयौँ, त्यहाँभन्दा माथि हाम्रो पहुँच छैन,’ उनले भने, ‘हाम्रो कुरा कसैले सुनेन।’ उनीहरू बसिरहेको ठाउँमा पिउनेपानी, शौचालय र बिजुलीको असुविधा छ।
कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति अध्यक्ष छवि चेपाङले अन्यायविरुद्ध आन्दोलनमा उत्रिए पनि आफूहरूको माग सम्बोधन नभएको बताउँछन्। ‘हामीले सबै ठाउँमा ज्ञापनपत्र पनि दियौँ। धर्ना पनि बस्यौँ। तर, दुई तिहाइको कम्युनिस्ट सरकार हुँदा गरिब नै अन्यायमा पर्यौँ। हामीलाई भन्दा वन र वन्यजन्तुको बढी माया रहेछ कम्युनिस्ट सरकारलाई,’ उनले भने, ‘त्यसैले हामी आफ्नो घरबाट लखेटियौँ। त्यति मात्र होइन, अहिलेको कम्युनिस्टको चाहना जनताभन्दा राम मन्दिर रहेछ। कम्युनिस्ट सरकारले हामीलाई घर दिन्छ भन्ने सोचेका थियौँ। कम्युनिस्टको नजरमा जनताभन्दा ठूलो राम मन्दिर रहेछ।’
निवर्तमान प्रधानमन्त्री केपी ओलीले मूर्तिलाई टीका लगाउन चाहेको तर जनतालाई चिन्नै नसकेको चेपाङ परिवारहरू बताउँछन्। ‘उहाँले बुझ्नै खोज्नुभएन, हामी हाम्रो नेता भनेर टीका र मालाले उहाँलाई सम्मान गर्न चाहन्थ्यौँ तर उहाँले त्यो चाहनुभएन। सुकुम्बासीप्रति उहाँको चिन्ता र चासो देखिएन,’ छविले भने।
चेपाङको घर बनाउने चाहना हुँदाहुँदै पनि नसकिएकामा माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकाल लाचारी प्रकट गर्छन्। निवर्तमान प्रधानमन्त्री ओलीकै कारण चेपाङको घर नबनेको उनले बताए। ढकालले भने, ‘चेपाङको घर जल्दा प्रधानमन्त्रीलाई कुनै असर नै परेन। हामीले बनाउँछौँ भन्दा निकुञ्जले अवरोध गर्यो। एउटा पत्र लेखिदिनूस् वा भन्दिनुस् भन्दा समेत उहाँले बेवास्ता गर्नुभयो। मुख्य कुरा सरकारले नसोचेपछि मैले केही गर्न सकिनँ। बजेट फ्रिज भएको छ। जनता पालमा छन्,’ उनले भने, ‘राज्यले सहयोग गरेन। नेपाल सरकार र प्रदेश सरकारले यस विषयमा नबोल्दा समस्या भयो।’
मूर्ति र मन्दिरका विषयमा समन्वय नै छैन
आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती समारोहमा बालुवाटारमा निवर्तमान प्रधानमन्त्री ओलीले रामको जन्मभूमि भारतको अयोध्या नभई चितवन अयोध्यापुरी भएको दाबी गरेपछि राममन्दिर निर्माणको चर्चा शुरु भएको हो। त्यसलगत्तै माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन भने। ओलीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली बालुवाटार पुगेको थियो।
टोलीमा उपमेयर ताराकुमारी काजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, तत्कालीन नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायत थिए।
दुई घन्टाको छलफलमा ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए। उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाव दिएका थिए। अयोध्यापुरीलाई राम जन्मभूमिका रूपमा विकास गर्न बजेटको कुनै कमी हुन नदिने भनेर विश्वास दिलाएका थिए।
ओलीसँग भेटपछि उत्साहित बनेको टोली माडी फर्किएपछि नगर कार्यपालिकाले प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै राम जन्मभूमि अयोध्याको अध्ययन तथा अनुसन्धानका लागि स्थानीय नारदमणि पौडेलको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको थियो।
बैठकले वडा नम्बर ९ स्थित रिउखोला र घाँघरखोलाको दोभान (कृष्णनगर पार्क)मा सय बिघामा फैलिएको जमिन अयोध्या धामलगायत भौतिक पूर्वाधार विकास गर्न प्रस्ताव गरी डीपीआर बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो। कुनै प्राविधिक कारणले यो जमिन अनुपयुक्त देखिएमा वैकल्पिक रूपमा माडी-८ दक्षिण अयोध्यापुरी क्षेत्रको करिब ५० बिघा जमिनसमेत राखिएको प्रस्ताव गरिएको थियो। तर, यस विषयमा मन्त्रिपरिषद्बाट हालसम्म कुनै निर्णय नगरी, स्थानीय तहसँग समन्वय नगरी माडी-९ स्थित गणेशगुञ्ज क्षेत्रमा धमाधम मन्दिर निर्माण गरिएको हो।
मेयर ढकाल तथा अयोध्या अध्ययन तथा अनुसन्धान समितिका अध्यक्ष पौडेलले समेत मन्दिर निर्माणको विषयमा औपचारिक जानकारी कसैले पनि नदिएको बताए। पौडेलले त पटक-पटक ओलीसँग भेट्न खोजे पनि बेवास्ता गरिएको बताए। ‘प्रमाणका लागि अध्ययन गर्न भनियो तर के-के अध्ययन भयो भनेर सोधखोज नै भएन। मैले प्रयास गर्दा प्रधानमन्त्री निवासबाटै फोन आउँछ भनियो। तर, अहिलेसम्म आएन, अस्थायी मन्दिर भने बन्यो,’ उनले भने।
यसबीचमा मन्दिर बन्ने जमिन मन्दिरको नाममा राख्न, आर्थिक स्रोत व्यवस्था गर्न र यो समितिलाई बोर्डको बनाउन भन्दै तीनवटा फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो। तर, यी कुनै पनि विषयमा सुनुवाइ नगरी, नक्सा पाससमेत नगरी पूर्वाधार निर्माण भएको छ।