काठमाडौं- कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनरत धनुषा, बारा र सर्लाहीका नेता-कार्यकतालाई भेटेका छन्।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनसनमा बसेका नेता-कार्यकर्तालाई उनले मंगलबार भेटेका हुन्। कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।
‘विधानविपरीत बाँडिएका सदस्यता खारेज हुनुपर्छ। सदस्यता वितरणमा भएको धाँधलीका विरुद्धमा म तपाईहरूसँगै छु,’ उनले भने।
उनले अनसनरतहरूको लडाइँमा अन्तिमसम्म साथ दिने प्रतिबद्धतासमेत जनाए। कोइरालाले पार्टीको कुनै पनि तहमा बसेर काम गर्नेहरू अन्याय सहेर बस्न नहुने टिप्पणी गरेका थिए।