काठमाडौं- निर्वाचन आयोगले माओवादी केन्द्र वैधानिक पार्टी रहेको फैसला दिएको छ ।
आयोगले आइतबार संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने फैसला गरेको हो ।
‘संवैधानिक र कानूनी शर्तहरू पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको फैसलामा उल्लेख छ ।
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए । उक्त पार्टीले ०६९ सालयता महाधिवेशन नगरेकाले वैधानिकता समाप्त भएको निवेदनमा उल्लेख थियो ।
तत्कालीन एमाओवादी, नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दलहरू एकीकृत भई ३२ साउन ०७३ मा माओवादी केन्द्र दर्ता भएको देखिएको आयोगले उल्लेख गरेको छ ।
यस्तै, नयाँ संविधानअनुसार राजनीतिक दलहरूलाई दर्ता हुन सूचना प्रकाशन गरेपछि माओवादी केन्द्रले ३० मंसिर ०७३ मा दल दर्ता गरेको र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको आयोगले उल्लेख गरेको छ ।
यस्तै, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर २३ जेठ ०७५ मा नेकपा नामक दल बनेको उल्लेख पनि आयोगले गरेको छ । र, अहिले नाममा आएको विवादका कारण एमाले र माओवादी केन्द्र अलग दल बनेको पनि आयोगले उल्लेख गरेको छ ।