काठमाडौं- विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये दुई सय १५ गाडी र ७६ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपछि छाडिने गरेको प्रहरीले जनाएको छ।
साथै, नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ५७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म चार लाख ६१ हजार चार सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १३ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम एक हजार तीन सय रुपैयाँ जरिवाना गरिएको छ। सो क्रममा दुई सय ७२ जनालाई रोकी सम्झाइबुझाइ छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितका ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार एक सय ८७ जनालाई सचेत गराइएको छ।