काठमाडौं- सोह्रखुट्टेबाट नयाँ बजारतिर लाग्ने ओरालोमा एउटा पाटी पुनर्निर्माणको क्रममा छ। त्यो हो ‘मण्ड फलिचा’। नेवार समुदायको वास्तुमा आधारित यस्ता पाटीलाई नेपाल भाषामा ‘फलिचा’ वा ‘फलेचा’ भनिन्छ। जुन अपभ्रंश हुँदै ‘फल्चा’ भएको हो। नेपाल भाषामा ‘फल’ को अर्थ ‘पेटी’ हुन्छ। काठबाट बनेको बस्नयोग्य पेटीलाई ‘फल्चा’ भनिएको हो।
मण्ड फल्चाको इतिहास दुई सय वर्ष पुरानो रहेको इतिहासकारहरू बताउँछन्। थोरै स्थान ओगट्ने यस्ता फल्चाले थकित मानिसलाई विश्रामको सुविधा दिन्छन्। करिब पाँच वर्षअघि ट्राफिक न्यूनीकरणका लागि सडक विस्तार गर्नुपर्ने कारण देखाउँदै मण्ड फल्चा हटाउने निर्णय भएको थियो। जनस्तरबाट विरोध भएपछि पुनर्निर्माण सुरु भएको छ।
इतिहासविद्हरूका अनुसार ‘सोह्रखुट्टे’ नाम रहनुमा मण्ड फल्चाकै भूमिका छ। यसका १६ वटा खम्बा भएकै कारण ‘सोह्रखुट्टे’ भनिएको हो। मल्लकालमा कान्तिपुर, पाटन र भक्तपुर गरी उपत्यकाका तीनै सहर सांस्कृतिक सम्पदाले भरिपूर्ण र विकसित थिए। सडक, धारा र पोखरीसँगै फल्चा पनि आकर्षणको अर्को केन्द्र थिए, जुन दोबाटो, चौबाटो, मुख्य सडकका छेउछाउ, मठमन्दिर र मूलचोकमा बनाइन्थे।
भक्तपुर नगर प्रवेश गरिने मूलढोका, च्याम्हासिंह, सूर्यविनायक, डेकोचाजस्ता स्थान पुग्नेबित्तिकै ठाउँ-ठाउँमा फल्चा देखिन थाल्छन्। नगरभित्र अझ बढी फल्चा छन्। यी फल्चा १६औं-१७औँ शताब्दीदेखि निर्माण हुन थालेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
च्याम्हासिंहस्थित सूर्यमढीमा वाकुपति नारायण मन्दिर छ। उक्त मन्दिर फल्चाका कारण प्रसिद्ध छ। दलिन र थाममा कुँदिएका आकृतिका कारण यहाँका फल्चा अन्य स्थानका भन्दा फरक छन्। यौन आसन र सम्भोगका आकृति यहाँका फल्चामा कुँदिएका छन्। ‘यस्ता बुट्टा थकान मार्न बसेकालाई क्षणिक मनोरञ्जन दिने उद्देश्यले बनाइएको हो,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘फल्चाको छानामा बेरिने झल्लरलाई शुद्धताको प्रतीक मानिन्छ। बतास चल्दा झल्लर हावाको बेगमा उड्छ। यस्ता दृश्यले सौन्दर्य बढाउँछ।’
भक्तपुर नगर प्रवेश गर्ने मूलढोका, च्याम्हासिंह, सूर्यविनायक, डेकोचाजस्ता स्थान पुग्नेबित्तिकै ठाउँ-ठाउँमा फल्चा देखिन थाल्छन् । यी १६औँ-१७औँ शताब्दीदेखि निर्माण हुन थालेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।
उनका अनुसार टाढाका यात्री तथा गाउँबाट सहर आएकाहरूका लागि विश्राम गृहको रूपमा फल्चालाई लिइन्थ्यो। मन भुलाउन टाढा जान नसकेका वृद्धवृद्धाको जम्काभेट गर्ने स्थान पनि फल्चा नै थिए। फल्चासँगै ढुंगेधारा हुनु अर्को विशेषता हो। ‘फल्चालाई आराम गृहसँगै पानी र हावाहुरीबाट बचाउने सुरक्षित स्थानको रूपमा प्रयोग गरिन्थ्यो,’ धौभडेल भन्छन्, ‘फल्चाको निर्माण राजा-महाराजाले नभएर प्रजाले नै गर्ने गर्थे।’ आफ्नै जग्गामा फल्चा बनाउने चलन मल्लकालदेखि चलेको उनको भनाइ छ।
विज्ञहरूका अनुसार जुन दाताको सहयोगमा फल्चा निर्माण भएको हो, उनैका सन्तानले तिनको जगेर्ना गर्नुपर्ने नियम थियो। यद्यपि, त्यो नियम लामो समय टिकेन। हाल भक्तपुर क्षेत्रका अधिकांश फल्चाको निर्माण तथा पुनर्निर्माण नगरपालिकाले गर्दै आएको छ। ‘भूकम्पका कारण जीर्ण बनेका सबै २०-२५ वटा फल्चा पुनर्निर्माण भइसके,’ भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोपाल श्रेष्ठ भन्छन्।
फल्चाकै अवधारणामा बनेका अन्य दुई संरचना हुन्- पली र सत्तल। नगरकोट र चाँगुनारायणका ग्रामीण इलाका र फाँटमा छाना र पर्खालले घेरिएका साना घर अझै पनि फाट्टफुट्ट देख्न सकिन्छ, जसलाई पली भनिन्छ। फल्चा तीनतिरबाटै खुला हुने भए पनि यस्ता घरको भुइँतलामा ढोका तथा पर्खालले घेरिएको हुन्छ। प्रमुख पेसा कृषि भएको समयमा किसानले आफ्नै खेतको एक भागमा पली बनाउँथे।
खेतीपातीको कामले घर जान नसक्ने अवस्थामा यस्ता पलीमा वास बस्ने चलन थियो। यस्तै, लामो र सुरिलो फल्चालाई सत्तल भनिन्छ। यो फल्चा र पलीभन्दा एक तला बढी हुन्छ। संस्कृतिविद् धौभडेलका अनुसार झ्याल-ढोका भएका सत्तल टाढाबाट वास बस्न आउनेका लागि सुरक्षित स्थान थिए।