सन् २०२१ को ग्रिष्म ऋतुमा आयोजना गरिएको ओलम्पिक र प्यारालम्पिकमा जापानको राजधानी टोकियोमा विदेशी दर्शकले सहभागी हुन पाउने छैनन्। गत शनिबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय प्यारालम्पिक कमिटी, टोकियो महानगर, ओलम्पिक आयोजक कमिटी र जापान सरकारको संयुक्त बैठकले विदेशी दर्शकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
विदेशी दर्शकलाई प्रतिबन्ध गर्ने निर्णय अचानक भएको होइन। कोभिड-१९ महामारीबीच जारी अनिश्चितताका कारण यस्तो निर्णय भएको हो। अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ र कोरोना भाइरसको नयाँ प्रकार देखापरिरहेका छन्। आगामी ग्रिष्म ऋतुसम्म जापानमा विदेशी पर्यटकको आवागमन खुला हुने सम्भावना छैन।
‘वर्तमान अवस्थामा जापान र विश्वका अन्य धेरै मुलुकमा कोभिड-१९ को अवस्था अझै चुनौतीपूर्ण छ र कोभिडका नयाँ प्रकार देखापरिरहेका छन्,’ बैठकमा संलग्न पाँच पक्षको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ। यो महामारीको वर्तमान अवस्थाको आधारमा त्यतिबेलासम्म जापान प्रवेश गर्न दिइने सम्भावना पनि कमै छ।’
ओलम्पिकका लागि टिकट खरिद गरिसकेका विदेशी दर्शकका लागि उक्त निर्णय लिनुपरेको बैठकको निष्कर्ष छ। उक्त निष्कर्षबाट ओलम्पिकमा सहभागी हुने खेलाडी र जापानका नागरिकको सुरक्षा सुनिश्चित हुने पाँचै पक्षले निष्कर्ष निकालेका हुन्।
टोकियो ओलम्पिक सन् २०२० कै लागि तय गरिएको थियो। तर, कोरोना भाइरसको विश्वव्यापी प्रसारका कारण स्थगित गरिएको थियो।
आगामी २३ जुलाईबाट सुरु भई २४ अगस्टमा सम्पन्न हुने गरी ओलम्पिकको तालिका घोषणा गरिएको छ। प्यारालम्पिकका खेलहरू २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुनेछन्। विदेशी दर्शकले आधिकारिक च्यानलहरूमार्फत खरिद गरेका टिकट फिर्ता गर्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ।
‘विश्वभरका सबै उत्साहित ओलम्पिक प्रशंसक, दर्शक र निश्चय नै खेलहरूमा आउने योजना गरिरहेका खेलाडीका परिवार र साथीहरूको निराशा हामी बुझ्न सक्छौँ। यसका लागि म साँच्चै दुःखी छु। हामीलाई थाहा छ यो सबैले गरेको ठूलो त्याग हो। हामीले यस महामारीको सुरुदेखि नै त्याग आवश्यक पर्ने बताउँदै आएका छौँ,’ आईओसीका अध्यक्ष थोमस बाकले भने, ‘तर, हामीले पहिलो सिद्धान्त सुरक्षा हो भनेका छौँ। प्रत्येक निर्णयले सुरक्षाको सिद्धान्तलाई सर्वप्रथम मान्नुपर्छ।’ आईओसीका जापानी साझेदार र मित्रहरू यो निष्कर्षमा सहजै नपुगेको उनको ठम्याइ छ।
टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्टसम्म चल्ने छ। तालिकाअनुसार खेलको प्रतिस्पर्धा २१ जुलाईदेखि नै सुरु हुनेछ, जसमा फुटबल र बेसबल छन्।
औपचारिक उद्घाटन भने २३ जुलाईमा हुनेछ। कोरोना भाइरसका कारण एक वर्ष पछि सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल तीन सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टोकियोका ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ।