काठमाडौं- अविरल वर्षाका कारण ३३ जिल्लाका ९९ ठाउँमा बाढी, पहिरो आएको छ।
प्रहरीका अनुसार दुई दिनयता ३३ जिल्लाका ९९ ठाउँमा बाढी, पहिरो अवरोध, डुबान र कटानजस्ता घटना भएका छन्।
ती घटनामा परी पाल्पामा एक, कास्कीमा एक, सिन्धुपाल्चोक एक र डोटीमा एक गरी चारजनाको मृत्यु भएको छ।
यस्तै, बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा सात र जाजरकोटमा सात गरी १४ जना बेपत्ता छन्। बेपत्तामध्ये १० पुरुष र चारजना महिला छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाढीमा परेका सिन्धुपाल्चोकमा ६६, कास्कीमा एक, पाल्पामा एक र स्याङजामा एकजना गरी जम्मा ६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढीको कारण एक सय ६५ वटा घर डुबानमा परेका छन्।
५३ वटा घर, तीनवटा गोठ, पाँचवटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६२ घरपरिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपाया मरेका छन्।