काठमाडौं- काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले गरेका हुन्।
कोभिड-१९ को जोखिम घटिनसकेको निष्कर्षसहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो।
संक्रमण दर भने कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पार्ने निर्णय प्रजिअहरूले गरेका छन्। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालनमा आउनेछन्।
१ असारदेखि शैक्षिक सत्र शुरु हुने भएकाले पुस्तक पसल पनि खोल्न दिइने भएको छ। पुस्तक पसलहरू बिहान ११ बजेसम्म खुल्न पाउने छन्।
यस्तै, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ। कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय प्रजिअहरूले गरेका छन्। विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गरिने भएको छ।




