विजय डालमिया

१२ वैशाख ०७२ को भूकम्पबाट पीडित परिवारको सेवाबाट शुरु भएको मेची अभियान अहिले कोभिड-१९ महामारीबाट पीडित परिवारको सेवामा तल्लीन छ। यस अभियानमा करिब एक सय युवा स्वयंसेवी भूमिकामा सक्रिय छन्।
झापाको मेचीनगर भन्नासाथ देशको एक मुख्य सीमा नाकाका रूपमा भारत, बंगलादेश तथा तेस्रो मुलुकसम्मको व्यापार मात्र होइन, भारतका विभिन्न ठाउँसम्म आउजाउ गर्ने एक प्रमुख ट्रान्जिट विन्दु बुझिन्छ। त्यसबाहेक पनि मेचीनगरको अलग्गै पहिचान छ। सहयोगी नागरिक, उत्साही युवा र मनकारी व्यक्तिहरूको बसोवास स्थलका रूपमा परिचित छ मेचीनगर। उत्साही युवाको सहभागितामा ६ वर्षदेखि सञ्चालित ‘मेची अभियान’ त्यस पहिचानको पछिल्लो कडी हो।
१२ वैशाख ०७२ को भूकम्पलगत्तै झापा मेचीनगरका युवा भूकम्प पीडित क्षेत्रमा राहत सामग्री पुर्याउन जुट्यौँ। यसलाई साझा अभियानका रूपमा अगाडि बढायौँ। त्यस अभियानको संयोजन गर्ने अवसर साथीहरूले मलाई दिनुभयो। मेचीनगरका सबै राजनीतिक दल र क्षेत्रका युवा मिलेर अभियान शुरु गर्यौँ। तत्कालीन सांसदले पनि यसमा साथ दिनुभयो।
यो अभियानको अवधारणा कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले अगाडि सार्नुभएको हो। त्यतिबेला भूकम्प प्रभावित १० वटा जिल्ला पुगेर राहतलगायत काम शुरु गर्यौँ। काभ्रे, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, रसुवा, मकवानपुर, दोलखा र काठमाडौंमा हामीले काम गर्यौँ। पूर्वी पहाडी जिल्ला भोजपुर पनि पुग्यौँ।
त्यतिबेला सबै जिल्लामा त्रिपाल, ब्ल्यांकेट, खाद्यान्न, दूध पाउडरसहित राहत सामग्री पठायौँ। हामी आफैँले गएर ती सामग्री बाँडेनौँ, सम्बन्धित जिल्लाको उद्योग वाणिज्य संघको संयोजनमा प्रमुख जिल्ला अधिकारीलगायत सबै राजनीतिक दलहरूलाई बोलाएर जिम्मा लगायौँ। वास्तविक भूकम्प पीडित त्यसमा पनि राहतबाट वञ्चित दूरदराजका मानिसलाई ती सामग्री हस्तान्तरण गर्नुपर्नेमा जोड दियौँ।
काभ्रेको शिखर आमबोटेमा ६८ वटा टहरा बनायौँ। काभ्रेकै पाँचखाल र रामेछापका दुई ठाउँमा विद्यालय भवन बनायौँ। गायक प्रमोद खरेलसँग मिलेर दोलखामा एउटा विद्यालयको नयाँ भवन नै निर्माण गर्यौँ। भूकम्प प्रतिरोधात्मक मापदण्ड अपनाउँदै पक्की भवन नै तयार पार्यौँ। विद्यालयहरू बनाउन नेपाली सेनाका स्थानीय जनशक्तिले पनि सघाए।
त्यसपछि झापा, सिरहा, सप्तरीमा आएको बाढीबाट पीडित बनेका परिवारका लागि राहत सामग्री वितरण र स्वास्थ्य शिविर चलायौँ। झापाको बाढीबाट पीडितमध्ये मृतकका परिवारलाई नगद हस्तान्तरण गर्यौँ। गौरीगञ्जमा स्वास्थ्य शिविर चलायौँ।
गत वर्ष कोभिड-१९ को महामारी शुरु भएपछि मेची अभियानले स्थानीय सरकारसँग साझेदारी गरेर सीमा नाकाबाट आउजाउ गर्नेहरूका लागि सहयोग गर्न खटियौँ। त्यसपछि पीपीई सेट झिकाएर झापाका स्थानीय पालिकाहरूलाई उपलब्ध गरायौँ।
त्यतिबेलासम्म भारतमा लकडाउन शुरु भइसकेको थियो। र, भारतीय बजारबाट पीपीई सेट ल्याउन सम्भव भएन। त्यसपछि त्यसको डिजाइन हेरेर हामी आफैँले पीपीई सेट तयार पार्यौँ। त्यसका लागि स्थानीय प्राविधिकहरूलाई नै प्रयोग गरियो। त्यसरी उत्पादित पीपीई सेट प्रदेश सरकार, विराटनगर महानगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर अस्पताललगायत पालिका, स्वास्थ्य संस्था र सुरक्षाकर्मीहरूलाई उपलब्ध गरायौँ।
सरकारले त्यतिबेला प्रतिपीपीई सेट पाँच हजार रुपैयाँसम्ममा खरिद गरिरहेको थियो, हामीले ११ सय रुपैयाँमै उत्पादन गरिरहेका थियौँ। त्यो पीपीई सेट धेरै निःशुल्क बाँड्यौँ र केही बिक्री पनि गर्यौँ।

लकडाउनका कारण रोजगारी गुमाएर साँझबिहान चुलो बाल्नै मुस्किल पर्न थालेका मेचीनगरका १८ सय ७२ परिवारलाई खाद्यान्न उपलब्ध गरायौँ।
त्यहीबीचमा नेपालका धेरै बिरामी भारतका स्वास्थ्य संस्थासम्म पुग्न नसकेको जानकारी आयो। उनीहरू भारतका डाक्टरलाई जँचाएर उतैबाट औषधि ल्याएर प्रयोग गरिरहेका थिए। त्यस्ता धेरै बिरामी थिए। र, लकडाउनका कारण डाक्टरसँग परामर्श लिन जान पाएका थिएनन्। उनीहरूलाई भारतीय बजारबाट झिकाएर सहज रूपमा औषधि उपलब्ध गरायौँ। त्यसका लागि दुवै देशका प्रशासनहरूबाट सहयोग लियौँ। औषधि खरिद गर्न नसक्ने अवस्थामा पुगेका कतिपय बिरामीलाई निःशुल्क पनि उपलब्ध गरायौँ।
त्यतिबेलै हामीले ६ ठाउँमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्यायौँ। काठमाडौँमा पहिलोपटक मारवाडी युवा मञ्चले टेकु अस्पतालमा त्यस्तो टनेल प्रयोगमा ल्याएको थियो। मेची अस्पताल, जिल्ला प्रहरी, जिल्ला प्रशासन, काँकडभिट्टा इलाका प्रहरी कार्यालय, बिर्तामोड ट्राफिक कार्यालय तथा बिर्तामोड र मेचीनगरको सीमा चारआलीमा त्यस्तो टनेल जडान गर्यौँ। ती टनेल सञ्चालनको जिम्मा स्थानीय सरकारलाई हस्तान्तरण गर्यौँ।
कोभिड-१९ महामारीको दोस्रो चरणमा मेची अभियानले मेचीनगरका कोरोना पीडित परिवारलाई अक्सिमिटर उपलब्ध गराइरहेका छौँ। कोरोना संक्रमितले अक्सिजन लेभल परीक्षण गर्न नपाउँदा गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेको पाइएपछि हामीले अक्सिमिटर वितरण अभियान चलाएका हौँ। गम्भीर अवस्थाका बिरामीलाई बचाउन हम्मे पर्ने गरेको देखेपछि हामीले यो अभियान थालेका हौँ।
अहिले मेचीनगरका कोरोना पीडित परिवारलाई अक्सिमिटर, मास्क, स्यानिटाइजर उपलब्ध गराइरहेका छौँ। संक्रमणमुक्त भएपछि अक्सिमिटर सम्बन्धित वडा कार्यालयमा बुझाइदिन भनेका छौँ। त्यसले अन्य संक्रमितलाई उपलब्ध गराउन सहयोग पुग्नेछ। महँगो पर्ने भएकाले अक्सिमिटर धेरै खरिद गर्न पनि सकिँदैन। र, फिर्ता आएका अक्सिमिटर वडा कार्यालयहरूले अन्य संक्रमितलाई उपलब्ध गराउँछन्।
१५ जेठमा गणतन्त्र दिवसका दिनदेखि हामीले टेलिमेडिसिन सेवा शुरु गरेका छौँ। यो सेवा नन्-कोभिड बिरामीका लागि हो। महामारी लम्बिँदै जाँदा नन्-कोभिड बिरामी स्वास्थ्य संस्था र डाक्टरसम्म पुग्न सकेका छैनन्। त्यसका कारण उनीहरूको रोग जटिल बन्दै गएको छ।
धेरै बिरामी लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्किन सकेका छैनन्। कोरोना संक्रमण सर्ने डरले पनि कतिपय बिरामी डाक्टरसम्म पुग्न पाएका छैनन्। त्यसैले कोभिडसँगै नन्-कोभिड बिरामीको पनि सेवा शुरु गरेका छौँ। त्यसका लागि केएचडीसी (किड्नी, हाइपरटेन्सन, डाइबेटिक र कार्डियो) धरानसँग सहकार्य गरेका छौँ।
गर्भवतीहरू र डिप्रेसनका बिरामीलाई पनि यो सेवा दिइरहेका छौँ। मेचीनगरका १५ वटा वडा, बुद्धशान्ति नगरपालिकाका चारवटा वडा, भद्रपुर नगरपालिकाका ९ र १० नम्बर वडामा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएका छौँ। यो सेवालाई झापाका सबै पालिकामा विस्तार गर्ने योजनामा छौँ।
डाक्टरहरू धरानमै बसेर बिरामीलाई परामर्श दिन्छन्। हामीसँग स्वयंसेवी साथीहरू छन्, जो आफैँ पनि स्वास्थ्यकर्मी हुन्। हेल्थ असिस्टेन्ट, अहेव हुन्, उनीहरू। स्वयंसेवी साथीहरू बिरामीको घर-घरमै पुग्छन्। साथीहरूले बिरामीको ‘हिस्ट्री’ लिन्छन्। त्यो विवरण ह्वाट्स एपमार्फत डाक्टरहरूलाई पठाउँछौँ।
डाक्टरहरूले बिरामीसँग कुरा गर्न चाहेमा हामी कुरा गराउँछौँ। नत्र बिरामीलाई गर्नुपर्ने परीक्षणको सूची डाक्टरहरूले पठाउँछन्। स्वयंसेवी साथीहरूले बिरामीको घरमै गएर रगत, दिशा, पिसाबलगायत नमूना संकलन गर्छन्। काँकडभिट्टास्थित मनिषा पोलिक्लिनिकमा हामीले ती नमूना परीक्षण गर्छौँ। त्यहाँ निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ। त्यसको रिपोर्ट ह्वाट्स एपमार्फत डाक्टरहरूलाई पठाउँछौँ।
त्यसपछि डाक्टरहरूबाट बिरामीलाई चलाउनुपर्ने औषधिको सिफारिस आउँछ। कहिलेकाहीं डाक्टरहरूले फेरि बिरामीसँग कुरा गर्न चाहन्छन्। स्वयंसेवी साथीहरूले अनलाइनमार्फत कुरा गराउँछन्।

डाक्टरहरूको ‘प्रेस्क्राइब’ गरेका औषधि बिरामीको घर-घरमा पुर्याउँछौँ। एक दिन जाँच र अर्को दिन फलोअप गराउने गरेका छौँ। मेची अभियानमा अहिले करिब एक सयजना युवा साथीहरू जोडिएका छन्। यसमा स्वास्थ्यकर्मी साथीहरू पनि छन्। मेचीनगर, बुद्धशान्ति र भद्रपुर नगरपालिकाका दुईवटा वडाका साथीहरू जोडिनुभएको छ। झापा क्षेत्र नम्बर १ लाई अहिले कभर गरेका छौँ। त्यसपछि यो क्षेत्रभन्दा बाहिर पनि पुग्ने योजनामा छौँ।
जहाँ पुग्छौँ, सम्बन्धित पालिकासँग सहकार्य गर्छौँ। मेचीनगरबाहेक बुद्धशान्ति नगरपालिकाले सहकार्य गरिरहेको छ। भद्रपुर नगरपालिकाले सहकार्य गरिसकेको छैन। पालिकासँग सहकार्य गर्नुपर्ने कारण पनि छ। बिरामीलाई अस्पताल लैजानुपर्यो भने नगरपालिकासँग सहयोग माग्नुपर्छ। अहिले गौरीगञ्ज नगरपालिकाले सहकार्यको हात बढाएको छ। यस्तै, झापा गाउँपालिकाले पनि सहकार्य गर्न तयार रहेको सन्देश पठाएको छ।
अभियान सञ्चालनका लागि स्वतःस्फूर्त आर्थिक सहयोग जुटिरहेको छ। आर्थिक सहयोग गर्न अपिल गर्ने गरेका छैनौँ। अहिले चिनजान नभएका सहयोगीहरू पनि अहिले आर्थिक सहयोग गर्छु भन्दै आउन थालेका छन्। कसैलाई पैसा उठाउने अनुमति पनि दिएका छैनौँ। र, सहयोगीबाट प्राप्त सहयोग दुरुपयोग हुने जोखिम पनि छैन। आएको सहयोगको बारेमा भने सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गर्छौँ। तर, अधिकांश दाताले आफ्नो नाम उल्लेख गर्न मान्दैनन्। अभियानको अडिट सार्वजनिक रूपमै हुन सकोस् भन्ने उद्देश्य हो यो।
(मेची अभियानका संयोजक तथा मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डालमियासँग कुराकानीमा आधारित)