अस्मिता भण्डारी
आँधी आउने निश्चित छ
त्यसैले, आकाश कालो मैलो भएर
बादल मडारिरहेको छ..
कच्ची घरका झ्याल ढोकाहरू बलिया छैनन्
चट्याङ पर्लाझैं गरी बिजुली चम्कँदैछ !
वुहानबाट सुरु भएको कोभिडले
पूरै संसार नै तहसनहस पारिसक्यो
फेरि अर्को भेरियन्ट पनि आउँदै छ रे …. यसपालि चलेको कोभिडको तुफानले
धेरैको सपना खोसेर लग्यो
कति आशाहरू नष्ट भए
बंगालको आँधी पनि त्यस्तै आयो
धेरैको जीवनमा लागेको हुरी, बतास र तूफानको कुरा गर्नै डर लाग्छ ….
अब चट्याङ पर्नै लाग्यो घरको छानो उडाउनै लाग्यो
कोरोनाको भन्दा ठूलो पिर त,
चौतर्फी, आँधी, हुरी, बतास र भोकमरीको हुने भो !!
अहिले लकडाउनको बेला छ ..
‘अमेरिकी फौजी किरा’ले
सबै बालीनाली नष्ट गरिसक्यो…
दक्षिणतिरबाट फेरि ’सलह’ भित्रिसक्यो भन्छन्
खै ? कस्तो महामारी आयो-आयो.. ??
सबै तैनाथ हुनुपर्ने
सडकदेखि सदनसम्म…
चुरेदेखि न्यायालयसम्म ..
गाउँदेखि शहरसम्म …
हिमाल, पहाड, तराईसम्म
सडक अहिले ठप्प छ …. कोभिडसँगै ‘फौजी किरा’ र ’सलह’का विरुद्धमा !
मुलुकका नाकाहरूमा गस्ती बढेको छ …!!
तर पनि, सुख छैन आपसमा मन जलेको छ
विचार गलेको छ…..
पशुपतिदेखि लुम्बिनीसम्म
जनकपुरदेखि टनकपुरसम्म रोदन बढेको छ…
संसदमा दोषारोपण चल्ने गर्थ्यो …
त्यहाँ पनि आज रमिता छ
आज देशमा रमिता छ….
आँधी आउने निश्चित छ त्यसैले
आकाश कालो मैलो भएर बादल मडारिँदै छ !!
कोही रंगका कुरा गर्छन् अनेकता र एकताको द्वन्द्वमा कुन्ठा बोक्नेहरू
शक्ति, भक्ती र आराधनामा लिन भएका छन्, खै के कुरा गर्नु सिटामोल र सिरिन्ज नपाउनेहरू अकालमा बिदा भए
तर पनि अन्तरविरोध र अविश्वास घटेको छैन, आफन्तहरूको क्रुर मृत्युमा समेत कसैको नाडी गलेको छैन ..
बरु
आफ्नै घरभित्रको लडाइँमा
को विजयी हुने हो थाहा छैन ….!!
बुझ्ने अरू धेरै कुरा बुझ्छन्, जो बुझ्नै सक्दैनन्
बोल्न र सुन्नै सक्दैनन्, तिनका निम्ति
आँधी, हुरी, चट्याङ उस्तै लाग्छ
कोरोना, ‘फौजीकिरा’ र ‘सलह’ पनि उस्तै लाग्छ, अब आउने डेल्टा र गामा भेरियन्टभन्दा ठूलो गरिबीको आँधी आउने आउनै लाग्यो !! आकाश कालो मैलो भएर बादल मडारिँदै छ
आज देशमा रमिता छ !!