काठमाडौं– संघीय संसद्मा चौथो ठूलो दल जसपामा आएको विभाजनप्रति कांग्रेस युवा नेता अभिषेकप्रताप शाहले कटाक्ष गरेका छन् ।
उनले कांग्रेसमा गोलबन्द हुन तराई मधेशका मतदातालाई आह्वान गरेका छन् । खासमा, कांग्रेसको मुख्य सांगठनिक क्षेत्र पनि तराई मधेशलाई नै मानिन्छ ।
पछिल्ला वर्षमा क्षेत्रीय राजनीतिक दलहरू जन्मिन थालेपछि पार्टीको गढ मानिने तराई मधेशमा कांग्रेसको संगठन केही हदसम्म खुम्चिएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट तीनपटक लगातार निर्वाचित शाह तराई मधेशमा कांग्रेसका प्रभावशाली युवा नेता हुन् ।
उनले राजनीतिको शुरुवात तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट गरेका थिए । बारम्बारको फुट र खुम्चिँदै गएको क्षेत्रीय राजनीतिबाट दिक्क भएर उनी आफ्नो पुस्तैनी विरासत भएको पार्टी कांग्रेस प्रवेश गरेका थिए । हजुरबाको पालादेखि नै शाहको परिवार कांग्रेस राजनीतिमा आबद्ध छ ।
मंगलबार सामाजिक सञ्जालमा युवा नेता शाहले लेखेका छन्, ‘मधेशी दल तथा त्यसका नेताहरू यस्तै फुट–जुट हुँदै गर्छन्, सबैलाई आग्रह नेपाल कांग्रेस पार्टीलाई साथ दिनूस् र लोकतन्त्रलाई बालियो बनाउनूस्।’
मंगलबार मात्र जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ । त्यसलगत्तै महन्थ-राजेन्द्र समूहले यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको दाबी गरेको छ ।