काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनविरुद्ध रिट लिएर विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाँदैछन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।
तयारी सकिए आइतबार (आजै) नभए भोलि सर्वोच्चमा रिट दर्ता गराउने उनीहरुको तयारी छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानूनी उपचार खोज्दै अदालत जाने तयारी गरिएको बताए ।
कांग्रेस नेतृ पुष्पा भुसालले पनि तयारी सकिए आइतबारै अदालत जाने तयारी रहेको बताइन् ।
शनिबार संयुक्त वक्तव्य जारी गरेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने उद्घोष गरेका थिए।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरेकी थिइन् । र, कात्तिक २६ र मंसिर ३ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेकी थिइन् ।