काठमाडौं- भारतले नेपालमा अक्सिजन अभाव मध्यनजर गर्दै १२ हजार सिलिन्डर लिक्विड अक्सिजन नेपाल पठाएको छ ।
भारतीय दूतावासका अनुसार अहिले झारखण्डस्थित अक्सिजन प्लान्टबाट लिक्विड अक्सिजन नेपाल आयात भइरहेको छ ।
हालसम्म वीरगञ्जबाट पाँच, भैरहवाबाट दुई र नेपालगञ्जबाट दुई बुलेट लिक्विड अक्सिजन नेपाल भित्रिएको छ ।
भारततर्फ अक्सिजन अभाव चरम अवस्थामा रहँदा भैरहवाबाट भित्रिँदै गरेको एक बुलेट लिक्विड अक्सिजन भारततर्फ सुनौलीमै स्थानीय बासिन्दाले रोकेका थिए । पछिल्ला दिनमा भने आपूर्ति सहज हुँदै गएपछि निर्वाध नेपाल आइरहेका छन् ।
भारतीय दूतावासका अनुसार एक टन लिक्विड अक्सिजनबाट करिब एक सयवटा सिलिन्डर भरिन्छन् । १५ टनको एउटा बुलेटबाट एक हजार पाँच सयवटा सिलिन्डर भरिन्छन् । ‘केही दिनभित्रै अक्सिजन बोकेर आउने बुलेटको संख्या बढाउँदैछौँ,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भने ।