काठमाडौं- कांग्रेस युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले करिब दुई सय अक्सिजन सिलिन्डर संकलन गरेर गृहजिल्ला संखुवासभामा उपलब्ध गराएका छन्।
पूर्वमन्त्री खड्काका अनुसार विभिन्न उद्योग, कलकारखानामा रहेका सिलिन्डर संकलन गरेर प्रहरीमार्फत जिल्लामा उपलब्ध गराइएको हो।
अरुण तेस्रो जलविद्युत आयोजनाले डेढ सयवटा सिलिन्डर उपलब्ध गराएको छ। अन्य साना जलविद्युत आयोजनाबाट पनि करिब ३० वटा सिलिन्डर संकलन भएका छन्।
पूर्वमन्त्री खड्काको कम्पनीसँग भएका पाँचवटा अक्सिजन सिलिन्डर पनि जिल्लामा उपलब्ध गराइएको छ।
तीमध्ये कतिपय सिलिन्डर नेपाली सेनाले काठमाडौं पनि ल्याएको छ। अन्य सिलिन्डर जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा उपलब्ध गराइएको छ।
पूर्वमन्त्री खड्काले खाँदबारीस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारसँग बजेट माग गरेका छन्। उनका अनुसार करिब अढाइ करोड रुपैयाँमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सकिन्छ।