‘जब सन्ध्या हुन्छ’ बोलको गीत १३ वर्षको उमेरमै लेखेको थिएँ। त्यसमा संगीत पनि आफैंले भरेको हुँ। त्यतिवेला दार्जिलिङमा पढ्दै थिएँ। देशबाहिरको भिन्न माहोलमा अलि बेसी ‘सेन्टिमेन्टल’ भइने रहेछ। त्यही समयमा बनेको हो, यो गीत।
मेरो गाउने शैली फरक छ- आधा गाउने र आधा बोल्ने। यो मेरो स्टाइलभन्दा ‘नेचर’ हो। गाउँदा मेरो शरीरका पुरै अंग चल्छन्। अरूका गीत गाउँदामा पनि जिउ त्यसरी नै चलिरहेको हुन्छ। सोही कारण मेरा गीतलाई स्रोता-दर्शकले मन पराउँछन् भन्ने महशुस गर्दा आफैंलाई अचम्म लाग्छ। पहिले त स्रोता-दर्शकले मेरा गीत मन पराउँछन् भन्ने कुरामा शंका लाग्थ्यो। विदेशमा बस्ने नेपालीले मेरा गीतलाई माया गरेको देखेपछि शंका हट्यो। म कहिल्यै संगीतको क्षेत्रमा डुबेको छैन। म त संगीतको तलाउको किनारमा बसेर सुसेल्ने मान्छे मात्र हुँ।
मेरा लागि संगीत एउटा थेरापी हो। गीत गाएपछि मलाई हल्का हुन्छ। गाउँदै गर्दा आफू राम्रो गायकभन्दा पनि राम्रो मान्छे हुँ भन्ने महशुस हुन्छ। संगीत नै यस्तो चिज हो, जसको साथ पाउँदा जुनसुकै काम रमाइलोसँग र लामो समय गर्न सकिन्छ। जस्तो– संगीतको साथमा परेड गराउँदा सिपाहीहरूमा ऊर्जा नै बेग्लै हुन्छ।
एकल र सामुहिक गरी हालसम्म २०-२२ वटा गीत गाएँ होला। संगीतमा म लेखाजोखा राख्दिनँ। ‘करै करले’ मेरो पहिलो एल्बम हो। त्यो पनि ब्रजेश खनाल र प्रभात रिमालको करकापमा निकालेको थिएँ। करकापमा निकालेको भएर नाम पनि ‘करै करले’ नाम जुराएँ। पाँच वर्षअघि ‘द्रव्यको आशा’ नामको एल्बम ल्याएँ।
सानैदेखि गीत सुन्थें। कन्र्सटमा जानुपर्ने र गायक-गायिकालाई आफ्नो गाडीमा राखेर घुमाउने सोख थियो। त्यसरी नै संगीत क्षेत्रसँग ‘कनेक्सन’ बन्यो। करिब आठ वर्षदेखि गीत ल्याएको छैन। सामाजिक काममा बढी व्यस्त छु। अहिले संगीतलाई निरन्तरता दिन केही झर्को लागेको छ। केही समयका लागि संगीतबाट आराम लिइरहेको छु। मेरा लागि संगीत ख्याती र आम्दानीको स्रोतभन्दा पनि साथीभाइसँग बिताइने रमाइलो पल हो।