शब्द : सुनिता खनाल
तस्बिर : संजित परियार
भक्तपुरको पाँचतले मन्दिरअघिल्तिर तौमडी स्क्वायरछेउमा टिनले छाएको एकतले पुरानो घर देखिन्छ। जंगम प्रतिष्ठानको यस घरमा भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको ३७ हरफको शिलालेख छ, जुन नेपाल संवत् ८६२ को हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यहाँ त्यसअघि नेपाल संवत् ६९२ मा भक्तपुरकै रानी गंगादेवीले नित्यपूजाका निम्ति भूमिदान गर्दा राखेको शिलालेख थियो। नेपाल संवत् ८६२ सम्म आइपुग्दा मठको भूमिबारे किचलो उत्पन्न भयो। ‘सोही समस्या समाधानका लागि गंगादेवीले राख्न लाएको अभिलेखको दुरुस्त उतारसहित राजा रणजित मल्लले स्वर्णपत्रमा अर्को अभिलेख राख्न लगाएका थिए,’ संस्कृतिविद् श्रेष्ठ भन्छन्, ‘त्यसको अर्थ, रानी गंगादेवीले शिलालेख राख्नुअघि नै त्यहाँ मठ स्थापना भइसकेको देखिन्छ।’
संस्कृतिविद् ओम धौभडेलका अनुसार यस घरमा शैव सम्प्रदायले पूजापाठ गर्ने गर्छन्। ‘नेपाल सम्बत् ४०० मै यो घर निर्माण भएको हो,’ उनी भन्छन्, ‘त्यसकारण यो उपत्यकाकै पुरानो घर हो।’
जंगम प्रतिष्ठानका अध्यक्ष भरत जंगमका अनुसार यो घर मल्लकालभन्दा अगाडि नै निर्माण भएको हो। मल्लकालयता उक्त भवन जंगमहरूकै संरक्षणमा छ। उनका अनुसार जयरुद्रदेव मल्लले १४औँ शताब्दीमा भवनको जीर्णोद्धार गरेको अभिलेख पनि सुरक्षित छ।
‘त्यसभन्दा करिब तीन सय वर्षअघि नै भवन बनेको हुनुपर्छ,’ जंगम भन्छन्। जयरुद्रदेव राजा हरिसिंहदेव मल्लका भाइ हुन्, जो त्यतिवेला राज्यका प्रशासकीय प्रमुख थिए। काठमाडौंको दरबार प्रताप मल्लको पालामा निर्माण भएको थियो। यस्तै, पाटन दरबार सिद्धिनरसिंह मल्ल र भक्तपुरको दरबार भूपतिन्द्र मल्लले बनाएका थिए। अन्य दरबार राणाकालमा बनेका हुन्। ‘त्यसैले जंगम प्रतिष्ठानको भवन उपत्यकाकै पुरानो हो,’ जंगम भन्छन्, ‘मन्दिर भने यसभन्दा पुराना पनि छन्, भवनतर्फ भने यही नै पुरानो हो।’ उनी पनि यही घरमा जन्मेका हुन्।
उनका अनुसार अहिले जंगम प्रतिष्ठानको मातहतमा छ, यो भवन। यसअन्तर्गत डोलेश्वर महादेव, पनौतीको इन्द्रेश्वर, धनेश्वर, अनन्त लिंगेश्वरलगायत मठ–मन्दिर छन्। स्थानीय बासिन्दामाझ यो ‘रावल मठ’का रूपमा परिचित छ।
जंगमहरूलाई लिंगीय ब्राह्मण मानिन्छ, जो भारतबाट भक्तपुरमा आएका हुन्। भारतको काशी वाणी जंगम मठ र भक्तपुरको जंगम मठबीच पुरानै धार्मिक-सांस्कृतिक सम्बन्ध छ। भवनमा रुद्राक्ष माला पहिर्याइएको अर्को अभिलेखमा प्राचीनकालदेखि नै भक्तपुर र काशीबीच गहिरो सम्बन्ध रहेको उल्लेख छ।
लिच्छवीकालमा भारतबाट धेरै सम्प्रदाय नेपाल प्रवेश गरे। तीमध्ये वीर शैव सम्प्रदाय पनि थियो। सोही सम्प्रदायका अनुयायी हुन्, जंगमहरू। बिस्केट जात्रामा पूजा गरिने विश्वनाथ, भैरव र भद्रकाली जंगमहरूका इष्ट देवी–देवता हुन्। भक्तपुर र काभ्रेका ठूला महादेव मन्दिरहरूका पूजारी पनि जंगम नै हुन्।
सुरुमा जंगमका तीन परिवार नेपाल आएका थिए। पहिलो परिवार मठका मूल सञ्चालक रहे। हालका मठाधीश ज्योति जंगम सोही परिवारका सन्तति हुन्। दोस्रो परिवार पूजारीका रूपमा स्थापित भयो। तेस्रो परिवारका सन्तति भान्छे थिए।
भारतमा जंगमहरू तान्त्रिकका रूपमा परिचित थिए। भक्तपुरका राजकुमारको दुर्घटनामा मृत्यु भएपछि उनको आत्मा भड्किएको विश्वासमा तत्कालीन राजपरिवारले जंगम परिवारलाई नेपाल भित्र्यायो। उनको अस्तु शिवलिंगमा राखिएपछि भड्किएको आत्मा शान्त भएको विश्वास गरियो। राजपरिवारले केही जग्गा दिएर जंगमहरूलाई यतै राख्यो। भारतको जग्गा बिक्रीबाट प्राप्त रकमबाट थप जग्गा खरिद गरेर कुल तीन सय ९७ रोपनीलाई गुठीको नाममा राखे, जंगमहरूले।
अहिले पनि करिब तीन सय रोपनीको बाली मठाधीश ज्योति जंगमले उठाउँछन्, जसका पाँच सयभन्दा बढी मोही छन्। ज्योतिका अनुसार जंगम प्रतिष्ठानको भवनमा ६५ वटा कोठा थिए। सबैमा जंगम परिवार बस्थे। यो घरलाई ‘बासी घिउ नखाने घर’ पनि भनिन्थ्यो।
एउटा ठूलो ढुंगामा मोही पारेर खन्याउने र तिर्खाएका बटुवालाई त्यो मोही दिने गरिन्थ्यो। भवन परिसरमा गाईपालन गरिएको थियो। १२ वैशाख ०७२ को भूकम्पपछि भने गाईहरू हटाइयो। घरको माथिल्लो तलाको कोठामा राणा र राजाहरू आएर कौडा खेल्ने गर्थे, जुन कोठा अद्यापि छँदै छ।
हाल जंगमहरूको जनसंख्या करिब पाँच सय २३ छ। खासगरी, जनैपूर्णिमाका दिन यो घरमा स्थानीय बासिन्दाको बाक्लो आवतजावत हुन्छ। अहिले यो घर दुई वृद्धवृद्धाले कुरिरहेका छन्। पशुपतिनाथकै जस्तो भोग चढाएर दैनिक साँझबिहान पूजा गरिन्छ। ३० वटा सटरको भाडा जंगम प्रतिष्ठानलाई बुझाउँछन्, स्थानीय व्यवसायीले। भूकम्पबाट चर्किएको घरको पुनर्निर्माणको तयारी भइरहेको छ। भवनको पुनर्निर्माण गर्दा एक भागलाई गुरुकुल र अर्कोपट्टि जंगम संग्रहालय बनाउने सोच रहेको ज्योति बताउँछन्।
नयाँपत्रिकाबाट