आइसिसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियन छनोट प्रतियोगिता नोभेम्बर महिनामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शुक्रबार विज्ञप्तिमार्फत टी-२० महिला विश्वकप एसियन छनोट २२ देखि २८ नोभेम्बरमा मलेसियामा हुने जानकारी गराएको हो।
यसअघि छनोट प्रतियोगिता २० देखि २६ सेप्टेम्बरसम्म हुने भनिएको थियो। तर, विश्वभरि नै कोरोना महामारीका रूपमा फैलिएको कारण देखाउँदै आइसिसीले छनोट खेल एक महिना पछि सारेको जनाउँदै नयाँ मिति सार्वजनिक गरेको हो। एसियन छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले पनि सहभागिता जनाउनेछ। प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएई गरी आठ देशको सहभागिता हुनेछ। आइसिसी टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह बीमा नेपाल छ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता हुनेछ। दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनकै लागि नेपालले एसिया छनोट खेल्ने तयारी गरेको हो। नेपाली महिला क्रिकेट टोलीको लक्ष्य पहिलो विश्वकप खेल्ने हुनेछ। नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलेको सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) नै थियो। त्यसयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको छैन।
यसबीचमा नेपालमा दुई घरेलु क्रिकेट प्रतियोगिता आयोजना भए। गत पुसमा दाङमा टी-२० राष्ट्रिय प्रतियोगिता र चैतमा काठमाडौंमा ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिप प्रतियोगिता भएको थियो। गत साता नेपाल क्रिकेट संघ (क्यान)ले कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिएको जनाउँदै तत्कालै क्रिकेटका सबै गतिविधि नहुने जानकारी गराएको थियो।
कोरोनाको महामारीबीच नै नेपाली महिला टोलीको लक्ष्य नै दक्षिण अफ्रिकामा हुने विश्वकपमा सहभागी हुनु हो। तर, त्यहाँसम्म पुग्ने बाटो त्यति सहज भने छैन। एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोट प्रतियोगिताबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० महिला विश्वकपका लागि स्थान बनाउने छन्।
ग्लोबल क्वालिफायर २०२२ मा हुनेछ। महिला टी-२० विश्वकप सन् २०२३ को ९ देखि २३ फेब्रुअरीसम्म हुनेछ। जहाँ १० देशको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आइसिसीको महिला वरीयताको शीर्ष सात टोली र आयोजक दक्षिण अफ्रिका विश्वकपमा पुगिसकेका छन्।