दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टलाई फाइजर-बायोन्टेक खोपले विकास गर्ने प्रतिरक्षा प्रणालीले परास्त गर्न नसक्ने एक अनुसन्धानले देखाएको छ।
अनुसन्धानमा संलग्न एक विज्ञले एएफपीलाई बताएअनुसार फाइजर-बायोन्टेक खोप लगाएका व्यक्ति पनि कोरानाको उक्त भेरियन्टबाट संक्रमित भए। तर, खोप लगाएका व्यक्तिमा उक्त भेरियन्टले गम्भीर बिरामी बनाउँछ कि बनाउँदैन भन्नेबारे अनुसन्धानकर्मीले प्रष्ट्याएका छैनन्।
तेल अभिभ विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक ‘क्लालिट हेल्थ सर्भिस’ले खोप नलगाएका चार सय कोरोना संक्रमित र आंशिक वा पूर्ण खोप लगाएका चार सयजनामा अध्ययन गरेको थियो।
इजरायलमा कोरोनाको दक्षिण अफ्रिकी भेरियन्टको संक्रमण हालसम्म एक प्रतिशतभन्दा कम देखिएको छ। अध्ययनमा सहभागी एक सय ५० जनाले पूर्ण खोप लगाएका थिए र उनीहरूलाई यसअघि कोरोना संक्रमण पनि भएको थियो। उनीहरूमा दक्षिण अफ्रिकी भेरियन्टको प्रसार दर खोप नलगाएका व्यक्तिको तुलनामा आठ गुणा बढी पाइएको छ।
‘यसको मतलव फाइजर-बायोन्टेक खोप अत्यधिक सुरक्षित भए पनि सम्भवतः कोरोनाको दक्षिण अफ्रिकी भेरियन्ट (बी१३५१) विरुद्ध प्रभावकारी छैन,’ अनुसन्धान रिपोर्टमा भनिएको छ।
तेल अभिभ विश्वविद्यालयका प्राध्यापक एडी स्टर्नका अनुसार दक्षिण अफ्रिकी भेरियन्ट फाइजर-बायोन्टेक खोपको सुरक्षा घेरा तोड्न केही हदसम्म सक्षम देखिएको छ।
‘हामीले धेरै थोरै खोप लगाएका मानिस ‘बी१३५१’ बाट संक्रमित भएको पायौँ, यो रोगको नतिजाका बारेमा अहिल नै बोल्नु हतारो हुनेछ,’ उनले भने।
रोकथामका उपाय
फाइजर-बायोएनटेक र मोडर्नाले सञ्चालन गर्ने मेडिकल जर्नल ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित रिपोर्टअनुसार खोपपछि विकास भएको एन्टिबडीले दक्षिण अफ्रिकी भेरियन्टबाट कम सुरक्षा प्रदान गरेको देखिएको हो।
दक्षिण अफ्रिकी भेरियन्टका हकमा खोपको प्रभावकारिताबारे भएको यो पहिलो अनुसन्धान हो। इजरायलमा ५३ लाखजनाले खोपको पहिलो डोज पाएका छन्। यस्तै, ४९ लाखजनाले दुवै डोज खोप लिइसकेका छन्।
‘क्लालिट’को एक अध्ययनअनुसार खोप लगाएका १२ लाख इजरायलीमध्ये ९४ प्रतिशतमा फाइजर-बायोन्टेक खोप प्रभावकारी पाइएको थियो।
खोप अभियानको व्यापकतापछि इजरायलले यसअघि लगाइएका धेरै प्रतिबन्ध खुकुलो बनाएको छ। तर, अनिवार्य मास्क लगाउने र ग्रिन पासपोर्टको सिस्टमलगायत उपायलाई यथावत् राखिएको छ। खोप प्राप्त गरिसकेका मानिसलाई पनि सीमित ठाउँमा मात्र जान दिइएको छ।
फाइजर-बायोन्टेक खोपको सुरक्षा शक्तिलाई दक्षिण अफ्रिकी भेरियन्टले तोड्न सक्ने जोखिमका बावजुद भाइरसविरुद्ध खोप अभियान,
मास्क लगाउने र अन्य सुरक्षा उपायका कारण उक्त भेरियन्टको प्रसार सीमित गर्न मद्दत पुगेको अनुसन्धानकर्मी रन बालिसरले बताए। ती सावधानीका कारण दक्षिण अफ्रिकी भेरियन्ट फैलिन नपाएको र त्यसको प्रसार हुन सक्ने सीमा ननाघ्नुको विकल्प नदेखिएको बालिसरले बताए।