दीपक नेपाल
कैलाली- कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
पाँच कर्मचारी, चार स्टाफ नर्स र चार कार्यालय सहयोगीमा कोरोना संक्रमण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले जानकारी दिए।
स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको उनले बताए।
आईसीयूमा कोरोना बिरामीको मात्रै उपचार
अबदेखि अस्पतालको आईसीयू कोरोनाका बिरामीका लागि मात्रै प्रयोग गरिने भएको छ।
अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्न थालेपछि अस्पताल व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो।
अहिले कोरोनाको संक्रमण भएका पाँच बिरामीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै, अस्पतालको आइसोलेसनमा हाल २८ जना कोरोना संक्रमितको उपचार भइरहेको व्यवस्थापन समिति अध्यक्ष जोशीले बताए।