वीरगञ्ज÷वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको अस्पताल सञ्चालनमा आउने भएको छ । स्थानीय बहुअरीमा स्पर्स मल्टिस्प्यासिलिटी हस्पिटल स्थापना भएको हो ।
यही बैशाख तेस्रो सातादेखि सेवा शुरू गर्ने तयारी भइरहेको अस्पताल व्यवस्थापनले बताएको छ ।
वीरगञ्जकै युवा चिकित्सकहरूको समूहले सञ्चालनमा ल्याउन लागेको हो । अस्पतालको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगको अस्पतालका निर्देशक डा. महेश्वरप्रसाद कुर्मीले बताए ।
बैशाख महीनामै अस्पतालबाट सेवा दिने लक्ष्यअनुुसार काम अघि बढिरहेको कुर्मीले जानकारी दिए । ‘अस्पतालको पूर्वाधारको काम करीब सकिइसकेको छ । बैशाखको तेस्रो हप्ताबाट सेवा शुरू गर्ने तयारी छ,’ उनले भने ।
सीमावर्ती शहर वीरगञ्जमा स्वास्थ्य उपचारका क्षेत्रमा सुपरस्प्यासिलिटी सेवाको अभाव पूरा गर्न ८ जना चिकित्सकहरूको अगुवाइमा अस्पताल स्थापना भएको हो । अस्पतालमा ब्रेन तथा नशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुेमेह, थाइराइड, मिर्गौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार सेवा दिइने डा. कुर्मीले जानकारी दिए ।
अस्पतालमा मुटुरोग, नाक, कान घाँटीसम्बन्धी स्वास्थ्य समस्याको पनि उपचार सेवा उपलब्ध हुने अस्पतालले बताएको छ । प्रदेश २ मा विशिष्ट स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आउन लागेको अस्पतालले आवश्यकताअनुसार काठकाडौंलगायतका स्थानबाट चिकित्सक झिकाएर सेवा उपलब्ध गराउने योजना राखेको छ ।
क्यान्सरका बिरामीहरूलाई केमोथेरापीको सेवासमेत उपलब्ध गराउने भएको छ । अहिले वीरगञ्जमा यो सेवा नहुँदा बिरामीहरू चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता छ ।
विगतमा बारा, पर्सा, रौटहट, मकवानपुर, चितवन र सर्लाही जिल्लाबाट बिरामीहरू उपचारका लागि वीरगञ्ज आउने गरेकोमा अहिले यहाँबाट अन्यत्र जाने गरेका छन् । वीरगञ्जमा उपचार सेवा भरपर्दो नभएकाले बिरामी बाहिर गइरहेको बुझेका चिकित्सकहरूको सहकार्यमा यो अस्पताल सञ्चालनको योजना बनेको हो ।
वीरगञ्जमा स्तरीय सेवा दिएमा भारतको पूर्वी चम्पारणबाट पनि सेवाग्राही आउने विश्वास चिकित्सकहरूको छ । ‘यो अस्पताललाई सेवा र सुविधामा प्रदेश २ कै नमूना बनाउने उद्देश्य राखेका छौं,’ डा. कुर्मीले भने ।