जनकपुरधाम- यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ।
मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी योपटक वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यलाई प्रदान गरिएको हो। आइतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा दुवै जनालाई मिनापले महामूर्ख घोषणा गरेको छ।
यस्तै, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई मूर्ख शिरोमणिको उपाधि प्रदान गरियो भने जनकपुरधाम उपमहानगरपालिका-४ का वडाध्यक्ष सुदर्शन सिंहलाई वैशाखनन्दन, जसपा केन्द्रीय सदस्य राजीव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिकका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघ प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तर घुसका घोषित गरिएको छ।
यसैगरी, सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई बोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकीट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ।