काठमाडौं (रासस)- बीपी संग्रहालय समितिले कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ।
संग्रहालयले बीपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल मितिबाट सुरु भई सुन्दरीजल जेल संग्रहालयमा रूपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवं समीक्षा गरेर वृत्तचित्र निर्माण गर्न लागेको हो।
अध्यक्ष परशुराम पोखरेलले बीपी कोइरालाको कुशल र सफल नेतृत्वले नै वर्तमान नेपालको इतिहासको जग खडा भएकाले कोइरालाको विविध पक्षलाई समावेश गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिए। ‘बीपी कोइरालाको वृत्तचित्र निर्माणसँगै नेपाल-भारत सम्बन्धले थप उचाइ लिने विश्वास हामीले लिएका छौँ’, अध्यक्ष पोखरेलले भने।
वाग्मती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय काठमाडौँको आर्थिक सहयोगमा निर्माण हुन लागेको वृत्तचित्रको छायांकन वैशाख दोस्रो सातादेखि गरिने अध्यक्ष पोखरेलले बताए।
बीपी कोइरालाले बीएसम्म अध्ययन गरेको बनारस हिन्दू विश्वविद्यालय, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाले पढाइ सुरु गरेको हरिशचन्द्र हाइस्कुल, विसं २०२५ मा सारनाथस्थित बीपी कोइराला भाडामा बसेको घर, बीपी तथा मात्रिकाप्रसाद कोइराला पहिलोपटक जेलजीवन बसेको वनारस जेल, बीपी कोइराला बनारसको सरकारी स्कुल पढ्न छाड्ने घोषणा गरेको स्थानलाई वृत्तचित्रमा समेटिनेछ।
यस्तै, वृत्तचित्रमा पटनामा गोलघरको पार्कमा रहेको बीपी कोइरालाको शालिक, जयप्रकाश नारायणको नामबाट बीपी कोइरालाले उद्घाटन गरेको संग्रहालय, बैंक रोड अफ पटनालाई बीपी कोइरालाको नाममा निर्माण गरिएको सडक, बिहाटा एयरपोर्ट पटनालाई समावेश गरिनेछ।
यसैगरी, कोलकातास्थित नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस विसं २००६ मा एकीकरण भएपछि बनेको नेपाली कांग्रेसको पहिलो बैठक बसेको टाइगर सिनेमा हल, बीपी कोइरालाले कानूनमा बीएलसम्मको अध्ययन गरेको कोलकाता विश्वविद्यालय, सुवर्णसमशेरको कलकत्ता पार्क स्ट्रिटमा भएको घर, कोलकाताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा सन् १९४७ जनवरी २५ र २६ मा भएको कांग्रेसको प्रथम महाधिवेशनस्थल समेत वृत्तचित्रमा समेटिने अध्यक्ष पोखरेलले बताए।