काठमाडौं- युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि हात पारेका छन्। जापानको टोकियोमा सम्पन्न महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउन्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन्।
विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ। हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरमा सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली खेलाडी हुन्।
१० हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो। अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुवाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए।
महोत्सवको उपाधि हात पारेपछि अविरलले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो नेपालीका लागि ऐतिहासिक विजय हो। के वान फेस्टिबल २०२१ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाको विषय हो। म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु।’