काठमाडौं- सरकारले गत वर्षको भन्दा ९६ रुपैयाँ प्रतिक्विन्टलले बढाएर यस वर्षका लागि गहुँको समर्थन मूल्य तोकेको छ। २० फागुनको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ११ रुपैयाँ तोकेको हो।
सरकारले आव ०७७-७८ का लागि उक्त मूल्य तोकेको हो गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनर्मूल्यांकनपछि समर्थन मूल्य तोक्ने गरिन्छ।
सरकारले उखु, धानलगायत बालीमा समर्थन मूल्य तोक्दै आएको छ। यसअघि आव ०७४-७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार पाँच सय ७१ रुपैयाँ तोकेको थियो।