विराटनगर- पाँच वर्षदेखि तराई-मधेशमा आफ्नो बाक्लो उपस्थिति जनाउँदै आएको रैथाने एकता परिषद्ले युवालाई अधिकारको लडाइँमा जागरुक रहन आग्रह गरेको छ।
परिषद्को प्रदेश १ कमिटीद्वारा शनिबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिषद् संयोजक सन्तोष बराइलीले पहिचानको लडाइँमा संगठित बन्न जोड दिएका थिए।
सिरहा लहानमा पाँच वर्षअघि गठन भएको परिषद्ले पहिलोपटक विराटनगरमा अन्तरक्रिया आयोजना गरेको हो। मुलुकको राजनीतिक अवस्था तरल भएको स्थितिमा रैथाने युवा जागरुक रहनुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरूले बताए ।
देशको पहिलो क्रान्ति भएको, विराट राजाले राजकाज चलाएको र देशले पाँचजना प्रधानमन्त्री पाएको विराटनगरमा युवाको भूमिका अझै सशक्त हुनुपर्ने अन्तरक्रियाको मुल भावना थियो।
संयोजक बराइलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह गरे। उनले तीन तहको सरकारमा हुने गरेका क्रियाकलापमा रैथाने युवाले विशेष चासो राख्नुपर्नेमा जोड दिए।
‘भ्रष्टाचारका कारण रैथानेको नाममा आउने गरेको बजेट दुरुपयोग हुने गरेको छ। त्यसैले हामीले आफनो अधिकारका लागि आफैँ लड्नुपर्छ। जागरुक नभई त्यो सम्भव छैन,’ उनले कार्यक्रममा भने।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि रैथाने समूदायको भएकाले भ्रष्टाचार उन्मुलनमा उनको भूमिकाले रैथानेको स्वाभिमान माथि उठ्ने कि तल पर्ने भन्ने निर्धारण हुने बताए। कार्यक्रममा परिषद्का मोरङ अध्यक्ष नरेश दनुवारले मोरङमा २१ जातजाति आदिवासी सूचीकृत भएको जानकारी दिए।