वीरगञ्ज-वीरगञ्जको ठाकुरराम क्याम्पस प्रशासनले शिक्षक कर्मचारीको व्यवस्थापन र भवन निर्माणलगायतका काममा अनियमितता गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । नेपाल विद्यार्थी संघ क्याम्पस इकाइले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
बीबीए तहमा अध्ययनरत विद्यार्थी अध्ययन अध्यापन र प्रशासन सुधारको माग राख्दै धर्नामा उत्रिएका छन् । विद्यार्थीहरु पढाई छोडर तालाबन्दी र धर्नामा उत्रिने अवस्था निम्तिनु क्याम्पस प्रशासनको चरम लापरवाहीको परिणाम भएको नेविसंघ क्याम्पस इकाइका अध्यक्ष मनोजकुमार साहले बताए ।
त्रिभुवन विश्वविद्यलायको नियमालीअनुंसार एउटा सिफ्टमा काम गर्ने शिक्षक कर्मचारीलाई सोही समयमा अर्को सिफ्टमा नियुक्ति दिएर दाहोरो सुविधा दिन नमिल्ने भए पनि क्याम्पसले यो नियम लत्याएको आरोप साहले लगाए । क्याम्पसको विज्ञान संकायका एक जना शिक्षकलाई बीबीएतर्फको निमित्त निर्देशक बनाइएपछि विद्यार्थीले विरोध गरेका हुन् ।
बीबीएतर्फको भवन निर्माणमा अनपेक्षित बिलम्ब हुँदा सो संकायको अध्ययन अध्यापनमा समस्या भएको विद्यार्थीको भनाइ छ । भवन निर्माण अविलम्ब पूरा गरी व्यवस्थापन मिलाउन माग गरिएको छ ।
क्याम्पस प्रशासनको उदासीनताका कारण भवन निर्माणमा ठेकेदारले लापरवाही गरेको विद्यार्थीको गुनासो छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति, पुस्तकालय व्यवस्थापन र सञ्चालन, भवनहरूको मर्मतसंहार र नियुक्तिमा क्याम्पस प्रशासनले मनपरी चलाएको आरोप विद्यार्थी संगठनको छ ।
क्याम्पस प्रशासनलाई यस्ता बेथिति सुधार्न दिइएको अल्टिमेटमको बेवास्ता गरेपछि तालबन्दी र धर्नामा उत्रिनु परेको अध्यक्ष साहले बताए ।