न्युयोर्क- अमेरिकी कम्पनी एप्पलसँग स्वचालित कार निर्माणमा सहकार्यका लागि कुनै पनि सम्झौता नभएको बताएसँगै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई र कियालाई ठूलो धक्का लागेको छ।
स्वचालित विद्युतीय कार उत्पादनका लागि एप्पलसँग कुनै छलफल नभएको हुन्डाई मोटर कम्पनीले प्रष्ट पारेको हो। जब कि, एक महिनाअघि हुन्डाईले एप्पलसँग यस विषयमा प्रारम्भिक कुराकानी भइरहेको बताएको थियो। एप्पलसँगको सम्भावित सहकार्यको समाचारका कारण त्यतिबेला हुन्डाईको सेयर मूल्य आकाशिएको थियो।
तर, हुन्डाईको प्रष्टीकरणसँगै कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। हुन्डाईको सेयर मूल्य ६.२ प्रतिशतले घट्दा हुन्डाईले सोमबार आफ्नो बजार मूल्यको कूल ३ अर्ब डलर गुमायो।
यस्तै, हुन्डाईको भगिनी कम्पनी किया कर्पको सेयर मूल्यमा पनि पहिरो गएको छ। सोमबार कियाको सेयर मूल्यमा १५ प्रतिशतले गिरावट आउँदा उसले साढे पाँच अर्ब डलर गुमाएको छ।
गत जनवरी सुरुमा दक्षिण कोरियाका सञ्चार माध्यममा हुन्डाईलाई उद्धृत गर्दै एप्पल र हुन्डाईबीच सन् २०२७ सम्ममा स्वचालित विद्युतीय कार उत्पादन गर्ने विषयमा छलफल भइरहेको सार्वजनिक भएको थियो। त्यसमा हुन्डाई वा कियाले अमेरिकामा सञ्चालन गर्ने कारखानामा ती कारका ब्याट्री उत्पादन गर्ने गरी सम्झौता हुन लागेको बताइएको थियो।
दक्षिण कोरियाको दोस्रो ठूलो कम्पनी हुन्डाई विश्वका अन्य कम्पनीसँग सहकार्य गर्ने विषयमा खासै रुचि नदेखाउनेमध्येमा पर्छ। यस कम्पनीले आफ्ना गाडीका लागि इन्जिन र पाटपुर्जा आफ्नै कारखानामा उत्पादन गर्छ।