पोखरा- टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश र महिलातर्फको नेपाल पुलिस क्लबले हात पारेका छन्।
पोखरा रंगशालामा २७ माघदेखि सुरु प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको थियो। सो क्रममा त्रिभुवन आर्मी क्लबलाई तीन-दुई सेटमा पराजित गर्दै गण्डकीले र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई सोझो ३-० सेटमा पराजित गर्दै पुलिसले महिलातर्फको उपाधि जितेको हो।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्।
यसैगरी, प्रतियोगितामा पुलिसकी उषा भण्डारी महिलातर्फ र गण्डकीका धनश्याम चौधरी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हुँदै समान नगद २० हजार र ट्रफी पाए।