वीरगञ्ज–कपडा र फुट वेयर उत्पादनमा दक्षता हाँसिल गरेको पे्रस्टिज समूहले पछिल्लो समय कार्पेट उत्पादनमा लगानी विस्तार गरेको छ ।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ४० करोड रुपैयाँको लगानीमा केही महीनाअघि कार्पेटको व्यवसायिक उत्पादन थालेको पे्रस्टिज कार्पेट उद्योगमा नयाँ प्रविधि थप्न लागेको समूहका अध्यक्ष विनय शाहले बताए ।
नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाउने रणनीति उद्योगले लिएको छ । उद्योगले यसअघि अमेरिका र अष्ट्रेलियाबाट भित्र्याइको प्रविधिबाट २० ओटा डिजाइनमा टफ्टेड कार्पेट उत्पादन गरिरहेको छ ।
बजारको माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना राखिएको शाहले जानकारी दिए । अमेरिकाबाट भित्र्याउन लागिएको नयाँ प्रविधिसहितको उपकरणका लागि ८ करोड रुपैयाँ लगानी थप्ने योजना उद्योगले बनाएको छ ।
करीब ५ महीनादेखि व्यवसायिक उत्पादन गरिरहेको यो उद्योगले अहिले लुप पाइल कार्पेट उत्पादन गर्दै आएकोमा नयाँ उकरण भित्र्याएपछि कट लुप कार्पेट बनाउने शाहले बताए ।
केही महीनाभित्रै नयाँ प्रविधि आइसक्ने शाहले बताए । ‘स्वदेशी बजारमा कार्पेटको आयात प्रतिस्थापनको उद्देश्य राखेका छौं । नयाँ प्रविधि आएपछि करीब ९० प्रतिशत आयात प्रतिस्थापन हुने अपेक्षा छ,’ उनले भने ।
नेपालको बजारमा अहिले वार्षिक १० अर्ब रुपैयाँबराबरको कार्पेट खपत भइरहेको अनुमान छ । योमध्ये अधिकांश परिमाण साउदी अरब, टर्की र युुरोपेली देशबाट आयात भइरहेको छ ।
प्रेस्टिज समूहले कार्पेटको आयात प्रतिस्थापनमात्र होइन, अहिले कार्पेट आयात भइरहेको युरोपेली देशमै आफ्नो उत्पादन निकासीको उद्देश्य राखेको छ ।
‘उत्पादनको ४० देखि ५० प्रतिशत स्वदेशी बजारमा खपत हुन्छ । बाँकी परिमाण त निकासी गर्नु पर्दछ । अहिले जहाँबाट कार्पेट आयात भइरहेको छ, तिनै देशमा निकासीको योजना राखेका छौं,’ अध्यक्ष शाहको भनाइ छ ।
शुरूमा निकट छिमेकी भारत, पाकिस्तान हुँदै युरोप र अमेरिकी बजारमा आफ्ना उत्पादन पु¥याउने लक्ष्य उद्योगले राखेको छ । उद्योगी शाहले विदेशी बजारमा प्रतिस्पर्धाका लागि सरकारबाट प्रोत्साहनको अपेक्षा गरेका छन् ।
सरकारले निकासीमा अनुदान दिने हो भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा सहज हुने उनी बताउँछन् । आधुनिक प्रविधिका आधारमा यो उद्योग नेपालमै पहिलो भएको दाबी शाहले गरे ।
नेपालको बजार र निकासी सम्भाव्यता देखेर कार्पेट उत्पादनमा हात हालेको औद्योगिक समूहले निकट भविष्यमा १ अर्ब रुपैयाँको लगानीमा पीभीसी कार्पेट उद्योग पनि खोल्ने योजना बनाएको छ ।