काठमाडौ– नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा उपयोगमा ल्याएको भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाह भन्सार प्रशासन कार्गो सहजीकरणमा सक्रिय देखिएको छ । तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गो ढुवानीलाई छरितो बनाउन बन्दरगाह भन्सारले प्रक्रियागत सुधारमा सक्रियता थालेको हो ।
बन्दरगाह भन्सारले सूचनामार्फत कण्टेनरमा लगाइएको वन टाइम लक (सिल) फुटेको वा अक्षर नबुझिएको अवस्थामा कण्टनेर खोलेरै मालसामान जाँच गर्नुपर्ने बाध्यता हटाएको छ । बन्दरगाह भन्सारले गत हप्ता यस्तो सूचना जारी गरेको हो ।
यसअघि बस्तुको उत्पत्तिमा लोड भएको कण्टेनरमा लगाइएको सिल ढुवानीको क्रममा टुटफुट भएमा बन्दरगाहमा सम्पूर्ण सामान चेकजाँच गर्नुपर्ने बाध्यता थियो । बन्दरगाह भन्सारले प्रावधान संशोधन गरेकाले अब यो समस्या हटेको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत सेवन्तक पोखरेलले बताए ।
यसअघि समुद्रपारबाट कोलकाता बन्दरगाहमा ल्याइएका कण्टेनरको सिलमा सामान्य कैफियत भेटिए पनि कण्टेनर खोलेर चेकजाँच गर्नु परेको आयातकर्ता बताउँछन् । यसले नेपाली आयातमा लोडअनलोड, चेकजाँचका लागि हुने समय र खर्च बढेको थियो ।
भन्सारको पछिल्लो व्यवस्थाले सिलमा उल्लेख भएको अक्षर र अंकमा सामान्य अन्तर देखिने बित्तिकै कण्टेनर खोल्ने र चेकजाँचको झमेला समाधान भएको आयातकर्ताका प्रतिनिधिले बताए । यस्तोमा भन्सारले कस्टम ट्रान्जिट डिक्लियरेन्समा नयाँ सिल उल्लेख गरेर गन्तव्यसम्म ढुवानी गर्न दिने भएको छ ।
तेस्रो मुलुबाट नेपालका लागि आएका कण्टेनरको भन्सार प्रक्रिया सरलीकरण हुँदै गएको उपमहावाणिज्यदूत पोखरेलको भनाइ छ ।
‘पछिल्लो समय कोलकाता बन्दरगाह भन्सारले नेपाली आयातका प्रक्रियागत समस्या समाधानमा निकै सक्रियता देखाएको छ । यो नेपालको समुद्रपार व्यापार सहजीकरणका सन्दर्भमा महत्वपूर्ण विषय हो,’ पोखरेलले भने ।
केही दिनअघि बन्दरगाह भन्सारले तेस्रो मुलुकबाट आउने कण्टेनर कार्गोमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) सिल अनिवार्य गरेको थियो । सडकमार्गबाट हुने ढुवानीमा आरएफआईडीमार्फत यसअघिको बोटल सिल विस्थापित गरिएको हो ।
पुरानो प्रविधिमा आधारित बोटल सीलभन्दा आरएफआईडी सुरक्षित र बढी प्रभावकारी हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलको भनाइ छ ।
कोलकातामा लगाइएको आरएफआईडी सील सीमावर्ती रक्सौल, जोगबनी, पानीटंकी, नौतनवा, गौरीफन्टा र नेपालगन्ज नाकामा चेकजाँच गरिन्छ । कोलकाता पोर्ट ट्रष्टमातहतको हल्दिया बन्दरगाहमा पनि यो प्रविधि अपनाइएको छ ।
कोलकातामा नेपालले लिजमा लिएको जग्गामा निर्माण गरिएको कण्टेनर फ्रेट स्टेसनलाई पनि बन्दरगाह भन्सारले आफ्नो क्षेत्राधिकारमा समेटेको छ । प्रक्रियाको पूर्णतापछि यो संरचना नेपाली आयातकर्ताले उपयोग गर्ने बाटो खुलेको छ ।
त्यसअघि कोलकातामा इलोक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली अनिवार्य गएिको थियो । यो प्रणालीलाई व्यवस्थित र पूर्णस्वचालित बनाउँदा कागजी प्रक्रियाका लागि भन्सारमा धाउनुपर्ने बाध्यता अन्त्य हुने नेपाली आयातकर्ताका कोलकातास्थित प्रतिनिधि अमृत श्रेष्ठले बताए ।
दुई वर्षअघि बन्दरगाहमा डाइरेक्ट ट्रान्ससिपमेन्ट प्रणाली लागू भएको थियो । तर, ढुवानीमा सिपिङ कम्पनीको मनोमानी नियन्त्रणबाहिर भएकाले डाइरेक्ट ट्रान्ससिपमेन्टबाट खर्च झन बढेको गुनासो आयातकर्ताको छ ।
तेस्रो मुलुकसितको व्यापारलाई प्रभावकारी र पारदर्शी बनाउन प्रक्रियागत र प्रविधिमा सुधारका लागि निरन्तर पहल भइरहेको पोखरेलको भनाइ छ ।