पोखरा लेकसाइडमा साँझपख स्वदेशी-विदेशी पर्यटकको चहलपहल हुनु स्वाभाविकै हो। फेवाताल किनारमै नवदुर्गा आरतीको अर्को जमघट पनि हुन्छ। फेवातालको मध्यभागमा तालबाराही मन्दिर छ। तालबाराहीलाई नवदुर्गा भगवतीको स्वरूप मान्ने गरिएको छ। साँझपख डुंगा चढेर मन्दिर पुग्न सम्भव नभएकाले लेकसाइडमै आरती गर्ने गरिएको हो। पहिलोपटक नवदुर्गा आरतीमा पुगेकाहरूलाई कुनै धार्मिक मेलामा सहभागी भएको अनुभूति हुने गर्छ।
हरेक साँझ पौने सात बजे शंखध्वनीका साथ आरती सुरु हुन्छ। र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ। भक्तजन ४५ मिनटसम्म आरतीमा मन्त्रमुग्ध रहन्छन्। पछिल्लो समय विदेशी पर्यटक पनि यसमा सहभागी हुन थालेका छन्। तालबाराही माता आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीका अनुसार दैनिक करिब तीन सय भक्तजन सहभागी हुने गरेका छन्।
२४ असोज ०७५ देखि तालबाराही घाटमा आरती सुरु भएको हो। सुरुमा काठमाडौंबाट गायक ल्याएर प्रत्यक्ष आरती गायन हुन्थ्यो। तर, त्यो खर्चिलो भएकाले अहिले काठमाडौंमा रेकर्ड गरिएको आरती सुनाइने गरेको छ। मुख्य गुरु मदन न्यौपानेका अनुसार स्थानीयस्तरमै गायक र बाध्यवादक उपलब्ध नभएका कारण त्यसो गर्नुपरेको हो।
भविष्यमा स्थानीयस्तरमै गायक र बाध्यवादक उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ। आरतीको समयमा दुईदेखि आठ जनासम्म कर्ता बस्ने गरेका छन्। हालसम्म एक हजार तीन सयजना कर्ता बसिसकेका छन्। हरेक कर्ताले एकपटकको एक हजार एक सय रुपैयाँ शुल्क तिर्नुपर्छ। सोही शुल्क र उपस्थित भक्तजनको दानबाट आरतीको व्यवस्थापन हुँदै आएको छ। दैनिक तीनजना गुरुले कला कौशलसहित आरती गर्छन्।
त्यसक्रममा शिव ताण्डव नृत्य देखाइन्छ। ‘शिवबिना शक्ति असम्भव हुने भएकाले शिव ताण्डवलाई नियमित बनाएका हौं,’ समितिका अध्यक्ष अधिकारी भन्छन्। शिव ताण्डवपछि मयुरको प्वाँख र चमरले देवी भगवतीलाई शीतलता प्रदान गरिन्छ। अन्त्यमा भजनकीर्तनका साथ टीका र प्रसाद ग्रहण गरिन्छ।
समितिका अनुसार पछिल्लो समय भारतीय तीर्थयात्री पनि नवदुर्गा आरतीमा सहभागी हुन थालेका छन्। काठमाडौंमा पशुपतिनाथको दर्शन गरेर पोखरा आएका तथा मुस्ताङमा मुक्तिनाथको दर्शन गरी फर्केका भारतीय तीर्थालु यहाँको आरतीमा सहभागी हुने गरेका छन्।