काठमाडौं- काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्छ, ललितपुरको खोकना। यो यस्तो, प्राचीन नेवार बस्ती हो, जहाँ अझै पनि मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैली देख्न पाइन्छ। यहाँ पुग्नेहरूले सहरको कोलाहलबाट छुटकारा पाउँछन्। हाल ललितपुर महानगरपालिका-२१ मा पर्ने खोकनामा मल्लकालीन ग्राम ‘जितापुर’को झल्को मिल्छ।
‘प्राचीन नेपाल मण्डलको ललितपुर राज्यका सात ग्रामप्रदेशमध्ये जितापुर पनि एक थियो,’ इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्। खोकनामा मल्लकालीन जीवनशैली अझै जीवित छ। ‘नेपाल मण्डलका भक्तपुर, कीर्तिपुर र ललितपुरको जस्तै खोकनाको पनि छुट्टै पहिचान छ,’ इतिहासविद् श्रेष्ठ भन्छन्, ‘भक्तपुरको नवदुर्गा र कीर्तिपुरको बाघभैरव नाच भनेजस्तै जितापुर अर्थात् खोकनाको शिकाली नाच ऐतिहासिक महत्वको छ।’
उपत्यकाका अन्य नेवारी बस्तीभन्दा खोकना छुट्टै पौराणिक बस्ती भएको संस्कृतिविद्हरू बताउँछन्। खोकनाको सांस्कृतिक महत्वलाई रुचाएर युनेस्कोको विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने आवाज पनि नउठेको होइन।
तोरीको तेलको प्रसिद्धी
यो ठाउँ तोरीका लागि प्रसिद्ध छ। स्थानीय बासिन्दाले तोरी फलाउँदैनन् मात्र, फलाएको तोरी भुटेर काठको कोलमा पेल्छन् र तेल बिक्री गर्छन्। यहाँ मिसावटयुक्त तेल निषेधजत्तिकै छ। एकताका खोकना हुँदै हेटौंडासम्मको पदमार्ग प्रसिद्ध थियो। त्यही मार्ग भएर हिँड्नेहरूले खोकनाको तेल कोसेलीका रूपमा लैजान्थे। खोकनासँग जोडिएका थुप्रै रोचक र अनौठा विषयवस्तु छन्। त्यसमध्ये एक हो, यहाँ सुँगुर, बंगुर र कुखुरा पूर्ण रूपमा प्रतिबन्धित छ।
कुदेशको किंवदन्ती
खोकनावासीको मुख्य पर्व हो, सिकाली जात्रा। यहाँका बासिन्दाले दशैं मनाउँदैनन्। सिकालीसँग कुदेशमा बस्ने महिषासुर नामक दानवको किंवदन्ती जोडिन्छ। महिषासुरले देवताहरूलाई धेरै दुःख दिए। महिषासुरको बास पत्ता लगाउने प्रयास देवताहरूले गरे। तर, उनी कतै भेटिएनन्।
दानवका कारण कष्ट हुन थालेपछि स्थानीयवासीले मायादेवीको क्षमापूजा गरे। भैरव, काली, कुमारी र वाराहीलाई बली पनि चढाए। तत्काल त समस्या समाधान भयो, तर लामो समय मुक्ति मिलेन।
अन्ततः राक्षसहरूबाट बच्न बस्ती नै सार्ने निधो गरियो। र, कुदेशबाट खोकनामा बस्ती सर्यो। पौराणिक कुदेश भनिएको स्थानमा अहिले सिकाली मन्दिर छ, जहाँ पुग्न खोकनाबाट करिब आधा घण्टा लाग्छ। बस्तीसँगै स्थानीयवासीले देवीदेवताको बासस्थान पनि सारे। र, खोकनामा रुद्रायणी मन्दिर बनाए। देवीले नयाँ स्थानमा बस्न मानिन् तर भोग लिन मानिनन्।
त्यसैले अहिले पनि सिकालीमै पुगेर भोग दिने चलन छ। खोकनामा जात्रा मनाउन रुद्रायणी गुठी छ, जहाँ ४६ गुठीयार छन्। स्थानीय बासिन्दाले आफ्ना आराध्य र इष्टदेवहरूको पूजा गर्दै जात्रा मनाउँछन्।
पहिलो उज्यालो गाउँ
मुलुकमै पहिलोपटक बिजुली बलेको ठाउँ पनि हो, खोकना। संसारमा जलविद्युत परियोजना सञ्चालन भएको ३३ वर्षपछि खोकनामा बत्ती बलेको थियो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रसमशेरले बेलायत र फ्रान्समा भएको विकास देखेपछि विसं १९६७ मा नेपालमा पनि त्यस्तै प्रविधि भित्र्याउने योजना ल्याए। र, विसं १९६८ मा फर्पिङ पावर हाउसबाट विद्युत उत्पादन सुरु भयो।
पावर हाउसबाट सीधै दरबारमा बत्ती जोड्दा अशुभ हुनसक्ने शंकाका कारण चन्द्रसमशेरले खोकनाका सिद्धिलाल डंगोलको घरमा बत्ती जोड्ने निधो गरे। र, त्यही घरमा नेपालमै पहिलोपटक बिजुली बल्यो। त्यसपछि सिद्धिलालले आफ्नो घरमा जडान भएको बत्ती टोल-टोलमा पुर्याएर गाउँ नै झिलिमिली बनाए।
उनका छोरा कार्टुनिस्ट मोहनश्यामले बाबुको सिको गर्दै आफ्नो थर खोकना लेख्ने गरेका छन्। सिद्धिलालले पहिलोपटक बिजुली बालेको घरलाई स्थानीय बासिन्दाले ०६८ सालदेखि संग्रहालयको रूप दिएका छन्। तर, १२ वैशाख ०७२ को भूकम्पबाट ऐतिहासिक महत्वको त्यो घर जीर्ण बनेको छ। र, मुलुकमै पहिलोपटक बत्ती बलेको त्यो घर अहिले अन्धकार छ।
राणा सरकारले ९ जेठ १९६८ मा पहिलोपटक बिजुली बालेको थियो। विकिपिडियाका अनुसार बेलायतको नर्थम्बरल्यान्डमा सन् १८७८ (विसं १९३५)मा पहिलोपटक बिजुली बलेको थियो।