काठमाडौं- चिया उद्यमी रामकुमार राठीको अर्को परिचय पनि छ, ‘टी टेस्टर’। उनी टाढैबाट चियाको गन्ध सुँघेर गुणस्तर छुट्याउन सक्छन्। विराटनगरका स्थायी बासिन्दा उनले चिया क्षेत्रमा काम गरेको ५१ वर्ष बितिसकेको छ। ०५० सालदेखि इलामको फिक्कलमा निजी लगानीको पहिलो ‘हिमालय रेन्ज’ चिया उद्योग सञ्चालन गरिरहेका छन्। आफ्नै नाममा ‘राकुरा’ ब्रान्डको चिया स्वदेशी र विदेशी बजारमा पुर्याइरहेका छन्।
नगेन्द्रप्रसाद रिजाल उद्योग, वाणिज्यमन्त्री छँदा दामोदरप्रसाद गौतम निजी सचिव थिए। गौतमकै पहलमा राठी सन् १९६६ मा नेपाली प्रतिनिधिमण्डलमा तत्कालीन पूर्वी पाकिस्तान (हाल बंगलादेश), चीन, हङकङ, थाइल्यान्डलगायत मुलुक गए। चीनमा देखेको ‘टी टेस्टिङ’बाट उनलाई पनि नेपालमा त्यस्तै प्रविधि भित्र्याउने प्रेरणा मिल्यो। सन् १९६८ देखि १९७० सम्म कोलकातास्थित एक चिया उद्योगमा उनले ‘टी टेस्टिङ’को तालिम लिए। त्यसपछि आसाम, दार्जिलिङ र डुबर्स पुगेर चियाका जात र गुणस्तरीय प्रशोधन सिके।
स्वदेश फर्केर सन् १९७३ देखि ‘टी टेस्टिङ’ गर्दै कोलकातामा चिया निर्यात गर्न थाले। सन् १९७८ मा नेपाली चिया बोकेर जर्मनी, डेनमार्क, स्विडेन, फ्रान्स, स्विजरल्यान्ड, अस्ट्रिया, इरानलगायत मुलुक पुगे। अहिले चिया प्याकेजिङ गरेर विदेश निर्यात गर्ने देशकै ठूलो कम्पनी हो, राकुरा।
उनको विराटनगर बरगाछीस्थित मुलुककै ठूलो ‘टी टेस्टिङ रुम’मा इलामको ‘हिमालय रेन्ज’ चिया उद्योगमा उत्पादित चिया आउँछ। उनी त्यसको टेस्ट गर्छन् अनि सावधानीपूर्वक प्याकेजिङ गराएर ‘राकुरा’ ब्रान्डको चिया बजारमा ल्याउँछन्।
विदेशमा नेपाली चियाको बजार राम्रो रहेको उनी बताउँछन्। सरकारले भने चियालाई आर्थिक विकासको आधार नै नमानेको उनको बुझाइ छ। पूर्वाधार विकासमा सरकारले लगानी गरिदिए स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने प्रचुर सम्भावना रहेको राठी बताउँछन्। नेपालमा हाल वार्षिक करिब दुई करोड ५० लाख किलो चिया उत्पादन हुन्छ। सरकारले सहयोग गरेमा बर्सेनि २० करोड किलो उत्पादन गर्न सकिने उनको भनाइ छ।