काठमाडौं- रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुर्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन्। चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुर्याइएको थियो।
युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुर्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए। उनलाई ग्रामीण क्षेत्रको एक घरमा लगेर बन्धक बनाइयो। ताम्पु थोङ नामक चिनियाँको घरमा राखेर अन्य पुरुषसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्न लगाई गर्भवती बन्न बाध्य बनाइएको उनको बयानमा उल्लेख छ।
उनी बसेको घरमा अन्य नेपाली युवतीलाई समेत त्यसैगरी बच्चा जन्माउनका लागि बन्धक बनाई राखिएको ती युवतीबाट खुलेको छ। नेपालबाट चीन उडाउनुअघि उनलाई ब्युटीपार्लरमा जागिर लगाइने आश्वासन दिइएको थियो।
ती युवती स्वदेश फर्केपछि चीनमा बच्चा जन्माउनकै लागि नेपाली युवतीहरूको तस्करी भइरहेको नयाँ तथ्य खुलेको हो। उनलाई चीन पुर्याउन संलग्न रहेको आरोपमा काभ्रेका किरण तामाङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
चीनमा गर्भवती भएकी पीडित युवतीको ‘मिसक्यारिज’ भएको थियो। त्यहाँ पुगेका अन्य धेरै महिलाले बच्चा जन्माएको उनले प्रहरीलाई जानकारी दिएकी छन्।
‘मलाई राखिएकै घरमा अरू नेपाली महिलाहरू पनि छन्, उनीहरूलाई पनि त्यसैगरी बच्चा जन्माउन बाध्य बनाइएको छ,’ पीडित युवतीले प्रहरीसँग भनेकी छन्। हाल थुनामा रहेकी मीना लामाको समूहले उनलाई चीन पुर्याएको थियो। उक्त समूहले मात्र दुई सयजनाभन्दा बढी नेपाली युवतीलाई बिहे गरेर चीन पठाई बच्चा जन्माउन प्रयोग गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। मानव बेचबिखन मुद्दामा फरार रहेकी लामा र उनका पति श्यामकुमारलाई इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
आफूलाई गाउँको घरमा बन्धक बनाई गर्भधारण गर्न बाध्य बनाइएपछि ती युवतीले नेपालमा रहेकी एक साथीलाई विच्याटमार्फत सम्पर्क गरेकी थिइन्। तिनै साथीमार्फत शक्ति समूह, नेपाल प्रहरी हुँदै बेइजिङस्थित नेपाली दूतावाससम्म जानकारी गराइएको थियो। दूतावासको पहलमा चीनको प्रहरीले उनलाई उद्धार गरी स्वदेश फर्काएको हो। उनी १२ कात्तिकमा काठमाडौं उत्रेकी हुन्।
पीडित युवतीले बताएअनुसार कतिपय नेपाली महिला बाध्यतावस त्यहीँ बसेका छन्। केहीले २-३ वटासम्म बच्चा जन्माइसकेका छन्। ‘एउटा बच्चा जन्माएपछि जागिरमा लगाइदिने प्रलोभन दिइन्छ,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘नेपाल फर्किँदा आफ्नो गोपनीयता रहँदैन भनेर पनि केही दिदीहरू उतै बसेका छन्।’
नेपालबाट चीनमा बिहेको नाममा युवतीको तस्करी भइरहेको ०७१ सालमै खुलेको थियो। त्यतिवेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंका केही म्यारिज ब्युरोका सञ्चालकलाई पक्राउ पनि गरेको थियो।
यस्तै, भदौ ०७६ मा मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहित १० जनाको गिरोहलाई पक्राउ गरेको थियो। त्यतिवेला बिहे गरेर चीन पुगेका चार युवतीको उद्धार गरिएको थियो। त्यस घटनाको अनुसन्धान क्रममा एक युवतीलाई चीन पुर्याउँदा १० लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ। उक्त गिरोह पक्राउ परेयता पनि चीनमा युवतीहरू तस्करी हुने क्रम नरोकिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
चीनमा नेपाली युवती तस्करीका लागि भाडाका बेहुला प्रयोग हुने गरेको छानबिनमा खुलेको छ। नेपाली युवतीसँग बिहे गरेका युवक चीन पुगेपछि बेपत्ता हुन्छन्। चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराएर चीन पुर्याई अन्य गतिविधिमा लगाउने गरिएको छ।
अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेको छ। विगतमा बिहे गरेर चीन पुर्याइएका युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो । पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य सामुन्ने आएको छ। नेपाल मात्र नभई पाकिस्तान, म्यानमार, बंगलादेश र भुटानबाट पनि नक्कली बिहे गरी युवतीहरूलाई चीन पुर्याइने गरेको छ।
चीनमा नेपाली महिलाको तस्करी भइरहँदा अदालतमा समेत सहजै विवाह दर्ता हुने गरेको खुलेको छ। अदालतले सहजै विवाद दर्ता गरिदिएका कारण गिरोहलाई युवतीको तस्करी गर्न सहज भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन्।
गत कात्तिकमा स्वदेश फर्किएकी ती युवतीले आफूलाई अदालतमा सामान्य सोधपुछसमेत नगरिएको बयान प्रहरीलाई दिएकी छन्। अदालतमा विवाह दर्ताका लागि नेपाली युवकको हकमा सम्बन्धित स्थानीय तहबाट अविवाहित रहेको सिफारिस अनिवार्य गरिएको छ। विदेशीको हकमा भने यस्तो सिफारिससमेत अदालतले माग्ने गरेको छैन। ‘यदि स्थानीय तहको सिफारिस अनिवार्य गरियो भने धेरै हदसम्म यस्तो धन्दा रोकिन्छ,’ एक प्रहरी अधिकारी भन्छन्।