वासिङ्टन- अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदमुक्त गर्ने प्रस्ताव पारित गरेको छ। उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई सक्रिय बनाउने प्रस्ताव पारित भएको हो।
संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले उक्त प्रस्ताव पारित गरेको छ। यसअघि उपराष्ट्रपति पेन्सले ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए। ट्रम्पलाई हटाउने प्रस्तावमा उनले असहमति जनाउँदै आएका छन्।
हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाइने बताएकी छन्। हाउस अफ रिप्रिजेन्टेटिभ्समा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको छ।
आजै हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगबारे मतदान हुँदैछ। गत साता अमेरिकी संसद्मा हिंसात्मक प्रदर्शनका लागि आफ्ना समर्थकलाई भड्काएको आरोपमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो।