काठमाडौं- अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले सशस्त्र द्वन्द्वबाट विस्थापित नागरिकका लागि छोटो अवधिमा सुरक्षित आवास निर्माण गरेर उनीहरूको मन जितेको छ।
नेपाली सेनाका अनुसार १९ जेठ ०७७ देखि अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुरोधमा उक्त काम सम्पन्न गरेको हो। त्यसक्रममा सात हेक्टर जमिन सम्याउने, सडक र ढल निर्माण गरिएको छ।
डिजुगु क्षेत्रबाट विस्थापित भएका २० हजार जनालाई बुनिया मजिपेला क्षेत्रमा बस्नयोग्य बासस्थान निर्माण गरिएको छ।
यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरेको थियो।
नेपाली सेनाले गरेको कामको राष्ट्रसंघीय पिस अपरेसन प्रमुख हुवाँ पियरे ल्याक्रोइक्स, इटुरी प्रान्तका गभर्नर हुवाँ बामानिसा सैदीलगायत अधिकारीहरूले प्रशंसा गरेका छन्।
नेपाली सेनाको इन्जिनियर गुल्म २३ औं डफ्फाका गुल्मपति प्रमुख सेनानी अर्जुन अधिकारी थिए भने हाल २४ औं डफ्फाका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन्।