मकावानपुर – बागमती प्रदेशमा संसदीय समिति गठन गरिने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गपछि आज समिति गठन हुने भएको हो ।
आज दिउँसो १२ बजे बस्ने गरी संसदीय समिति गठनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कार्य व्यवस्था परामर्श समिति समेत गठन गरिएको छ ।
प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची अनुसार सभामुखलाई सघाउन आइतबार बसेको प्रदेशसभाको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।
समितिमा नेकपा एमालेका ३, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका २ र अन्य दलबाट ११ जना सदस्य रहेका छन् । कार्यव्यवस्था परामर्श समितिको सदस्यहरूमा एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसूदन पौडेल, भारती पाठक माओवादी केन्द्रबाट रत्न ढकाल राधिका तामाङ, कांग्रेसबाट छिरिङ दोर्जे लामा, कन्दन राज काफ्ले, रामकृष्ण चित्रकार, हरिप्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओम कुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोर्साई रहेका छन् ।
आजको बैठकले प्रदेशसभाका अन्य ५ वटा संसदीय समिति गठन गर्नेछ । प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।
प्रदेशसभाको ३ वटा संसदीय समितिमा १९ जना र २ वटा समितिमा २० जना सदस्य रहने छन् । सोमबार गठन गरे लगत्तै संसदीय समितिको सभापतिको निर्वाचन कार्यक्रम पनि तय गरिने प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी दिएको छ ।