खाटमा बसी हाम्रो गाउँका बडका भलमन्सा
आफ्ना नातिसँग भलाकुसारी गर्दै थिए
पुराना कुरा सम्झँदै थिए
भैंसीको हुल
अद्धा, लडियाको
खेतै ढाक्ने गरी
चर्ने गाई, भेडा, बाख्राको
आफ्नो पहिरनमा मच्चिँदै हिँड्ने
बठिनियाको
म्यान्टुलको उज्यालोमा
मादल, डफको आवाजमा
मौसम त्यौहारअनुसार गरिने
नाचगान रमाइलोको
आफ्नो हाँक सुनेर गरिने
कुला, बाँध, साँधको
पालो पालो गरी गरिने
खेती र धान कटाईको
खरिहान खरीको रासको
सखारै गरिने दाइँको
कता हराए ती हामीलाई चिनाउने
बिलोच, लेहंगा, अघ्रान
गटिया, धोती, अंगौछा, लंगौटी
कता बिलायो गाउँलेका
बीचको सदभाव सहयोग
कता हरायो त्यो माटोको गन्ध
कता हराए खरिहानमा लाग्ने ती रास
भजनी जाँदा बाटामा लहरै
फाल्गुनमा फुल्ने गुल्हर, सेम्हरका रुख
कता गए कता हराए
घर घर राखिने
सुँगुरको शिकार, जाँड
उल्टी मुर्गी, थारू आलु,
गोलभेंडा खोज्दै गा¥हो
छप्परमाथि कोंहडा, लौका
हिजोको कथा भो
नाति मलाई आफ्नै दिन सम्झेर
रमाउन मन लाग्छ
माघीको रमझम, होलिको हुडदंगी
लाउडिसमा हरायो
जाँडको तालमा ढुनमुनिँदै
कुलामा गुल्टिएको सम्झना
हेल्का, टिप, डलिया बोकेर चटियामा
माछा मार्न जानेको हुल
घरघर गई सामान बेच्ने रंगढार
लडियामा खुरसानी बेच्न आउने
पारी बेलरायाँका देशी
भेडा चराउनेले बजाएको पिंग्रीको आवाज
टुकटुके मिलको टुकटुक
गाउँको चोकमा उभिएर
चार गाउँ सुनिने भालु चौकिदारको हाँक
मौसमअनुसारको सखिया, मुंग्राहा नाच
गाउँ आएका पाहुनालाई
खान बस्ने चिन्ता गर्ने समाज
चामल, दाल, तरकारी घोंघी पनि
पारि तिकुनियाकै भर
कता गयो कता हरायो
हाम्रो खेती हाम्रा तिथि
मेरो समयको सम्झना
भोलि तिमिहरूले कथामा पढ्ने छौ
आजकाल कामभन्दा
राजनीतिकै कुरा सुनिन्छ
गाउँका विकासभन्दा
जिन्दावाद मुर्दावादकै हल्ला बढी छ नाति
आफ्नो संस्कार केही भए पनि जोगाइराख
भोलि तिम्रा छोरा नातिलाई काम लाग्ला