काडमाडौं- नेपालमा दुई तरिकाबाट क्यासिनो सञ्चालन हुँदै आएका छन्। पहिलो- लाइभ गेम, जसमा मानिस आफैं उपस्थित हुन्छन्। दोस्रो- मेसिनबाट खेलाइने खेल। ठूला क्यासिनोहरूले मात्र लाइभ गेम खेलाउन पाउँछन् भने मिनी क्यासिनोलाई मेसिनबाट मात्र खेलाउन अनुमति छ। तर, तिनै मिनी क्यासिनोहरूले खुलेआम अनुमति नै नपाएको लाइभ गेम खेलाउँदै आएका छन्।
अनुगमन तथा कारवाहीको जिम्मेवारी पाएको पर्यटन विभाग भने मुकदर्शक बनेको छ। पछिल्लो समय नेपालमा सञ्चालित अधिकांश क्यासिनोले सामाजिक सञ्जालमै प्रचारप्रसार गरेर ‘लाइभ गेम’ खेलाउँदै आएका छन्।
‘क्यासिनो नियमावली, २०७०’ले मिनी क्यासिनोलाई मेसिनबाट मात्र जुवा खेलाउन अनुमति दिएको छ। हाल देशभर १६ वटा मिनी क्यासिनो सञ्चालित छन्।
लाइभ गेम खेलाउनका लागि पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनोले मात्र अनुमति पाउने नियमावलीको व्यवस्था छ। तर, सरकारी निकायहरूकै मिलेमतोमा देशैभरका मिनी क्यासिनोहरूले पनि लाइभ गेम खेलाइरहेका छन्।
ठूला क्यासिनो सञ्चालनका लागि वार्षिक राजस्व मात्र ६ करोड रुपैयाँ तिर्नुपर्छ। मिनी क्यासिनोका लागि भने १ करोड मात्रै तोकिएको छ। त्यसको फाइदा उठाउँदै मिनी क्यासिनो व्यवसायीहरूले खुलेआम लाइभ गेम सञ्चालन गराउँदै आएका छन्।
तर, विभागका निर्देशक एवं प्रशासन तथा होटेल शाखा प्रमुख सूर्यप्रसाद उपाध्याय मिनी क्यासिनोले लाइभ गेम नै सञ्चालन नगरेको दाबी गर्छन्। ‘हालसम्म मिनी क्यासिनोले लाइभ गेम खेलाएको पाइएको छैन,’ उनी भन्छन्, ‘उनीहरूले त्यसरी गेम खेलाउन पाउँदैनन्। खेलाएको पाइए कारवाही हुन्छ।’
तर, सामाजिक सञ्जालमै प्रचारप्रसार गरी खुलेआम अवैध धन्दा हुँदा पनि सम्बन्धित निकाय मौन छ। देखेर पनि अन्देखा गरिरहेको छ।
जसको मारमा ठूला क्यासिनोहरू मारमा परेका छन्। ‘मिनी क्यासिनोहरू एकातिर बक्यौता नै तिर्दैनन् भने अर्कोतर्फ अदालतको आदेशको भरमा खुल्लमखुला लाइभ गेम खेलाउँदै आएका छन्,’ एक ठूला क्यासिनो सञ्चालक भन्छन्, ‘मिनी क्यासिनोहरूले पर्यटन मन्त्रालय र विभागमा सेटिङ मिलाएर गेम खेलाइरहेका छन्।’
यी हुन् केही उदाहरण
घटना-१
गत १२ जेठमा नेपालगञ्जस्थित होटेल कल्पतरुमा सञ्चालित क्यासिनो ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालिले कानूनविपरीत ‘फ्लस इभेन्ट’ आयोजना गर्यो। कानूनविपरीत आयोजना भएको उक्त इभेन्टबारे बाँकेका सरकारी निकायहरू मौन रहे। पर्यटन मन्त्रालय र विभागका अधिकारीहरूले देखेको नदेख्यै गरिदिए।
जब कि, ‘एसएन ब्लू गेमिङ क्लब’ले सञ्चालन गरेको त्यो ‘फ्लस इभेन्ट’ गैरकानूनी थियो। उक्त क्यासिनो दर्ता हुँदा इलेक्ट्रोनिक्स गेम मात्र खेलाउने उल्लेख छ। दर्ताअनुसार क्यासिनोले मेसिन वा उपकरणबाट मात्र खेलाउन पाउँछ। तर, उक्त क्यासिनोले १२, १३ र १४ जेठ गरी तीन दिन ठूलो संख्यामा विदेशी नागरिक ल्याएर लाइभ गेम खेलायो।
स्रोतका अनुसार क्यासिनोले अनुमति दिने सरकारी निकायसँगै सेटिङ मिलाएर ‘फ्लस इभेन्ट’ आयोजना गरेको थियो। यति ठूलो गैरकानूनी गतिविधि हुँदासम्म न त मन्त्रालय, न त विभाग, न स्थानीय प्रशासनले नै कारवाही गरे।
घटना-२
केही दिनअघि मात्र विराटनगरको ‘सम्राट क्यासिनो’ले लाइभ इभेन्टका भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेको छ। मिनी क्यासिनोको रूपमा दर्ता भएको यस क्यासिनोले विद्युतीय गेम मात्र खेलाउन पाउँछ। तर, नियम कानूनको धज्जी उडाउँदै सम्राट क्यासिनोले लाइभ इभेन्ट सञ्चालन गर्यो। आफ्नो आधिकारिक फेसबुक पेसमै कार्यक्रमको भिडियोहरू पोस्टसमेत गरेको छ। तर, सरकारी निकाय मौन छन्।
अवैध धन्दा गरेको पाइए कारवाही गर्छौं : विभाग
अनलाइन गेम खेलाएको पाइने कारवाही गरिने पर्यटन विभागले जनाएको छ। हालसम्म त्यस्तो गेम खेलाएको नपाइएको भन्दै त्यस्तो पाइए कारवाही गरिने विभागका महानिर्देशक होमप्रसाद लुइँटेल बताउँछन्। भन्छन्, ‘स्थानीय तहको समन्वयमा विभागले नै हो अनुगमन गर्ने। अहिलेसम्म त्यस्तो अवैध धन्दा गरेको पाइएको छैन। पाइयो भने कारवाही गर्छौं।’